ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्ड स्तरोन्नति हुँदै

२०८० पुस, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

मान्म । कर्णाली राजमार्गअन्तर्गत कालीकोटदेखि जुम्लाखण्ड स्तरोन्नति गर्न थालिएको छ। आर्थिक वर्ष २०७९/८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो ।

कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म १०४ किलोमिटर सडकखण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर अहिले स्तरोन्नतिको कामले तीव्रता पाएको छ । कर्णाली राजमार्गको कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नति काम भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए । “राजमार्गमा सडकको नियमित कामसँगै सडक मर्मतको काम थालिएको छ”, उनले भने, “६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता गरिएको छ । सम्झौताअनुसार पुस मसान्तमा काम गरिसक्नुपर्छ ।” 

सडक मर्मतको काम अन्तिम चरणमा पुगेको र मर्मतका लागि रु ८० करोड बजेट विनियोजन भएको प्रमुख विष्टले जानकारी दिए । “साँघुरा सडक फराकिलो बनाउने, पहिरो गएको स्थानमा पर्खाल निर्माण गर्ने, नाला निर्माण गर्नेलगायत काम भइरहेका छन्”, उनले भने, “बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्ने गरिएको छ ।” आवश्यकताका आधारमा ग्याबिन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैतदेखि सञ्चालनमा आएको थियो । साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका थिए । राजमार्गमा हुने सडक दुर्घटनाले बर्सेनि सयौँ यात्रुले ज्यान गुमाउनु परेको थियो । सडक स्तरोन्नति र मर्मतले यसमा कमी आउने कार्यालयले विश्वास लिएको छ । कार्यालयका अनुसार सुर्खेतदेखि दैलेख हुँदै कालीकोटसम्म स्तरोन्नति र मर्मतको काम सुर्खेतस्थित सडक डिभिजन कार्यालयले गरिरहेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)