त्रिवेणी(रुकुम पश्चिम)। गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा झण्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका छवटै पालिकाका १३ हजार तीन सय ८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।
सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका ४ हजार ७४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् । त्यस्तै सानीभेरी गाउँपालिकामा २ हजार ३२१, त्रिवेणी गाउँपालिकामा २ हजार ६८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफीकोट गाउँपालिका भने लाभग्राहीले अझै अस्थायी आवास निर्माणको रकम पाउन सकेका छैनन् ।
आठबीकोटमा ७ हजार लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम प्राप्त भए पनि बैंकमा खाता सञ्चालन भएका ४ हजार सात सय ४२ लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए। उनका अनुसार नगरिपालिकाभर ९ हजार ९६२ लाभग्राहीको सङ्ख्या एकीन भएको छ ।
बाँकी लाभग्राहीलाई पनि खाता सञ्चालन भएपछि तत्काल रकम पठाइने उनले जानकारी दिए। त्यहाँ हालसम्म २ हजार २४० अस्थायी आवास निर्माण भइसकेको छ भने ३हजार ६९० वटा अस्थायी आवास निर्माणको चरण रहेको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिकामा ४ हजार १९३ लाभग्राहीको खातामा रकम पठाइएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट ६ हजार २७९ लाभग्राहीका लागि रकम प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार नगरपालिकामा ८ हजार ३८३ लाभ्रग्राहीको पहिचान भएको छ ।
अझै विवरण संकलन गर्न केही दिन लाग्ने उनले जानकारी दिए। त्यहाँ ११८ अस्थायी आवास निर्माण हुँदा १ हजार ५३३ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न २ हजार ३२१ लाभ्रग्राहीले पहिलो किस्ता पाएका छन् । पालिकाभर हालसम्म ५ हजार ४२५ लाभग्राही पहिचान भएका छन् । जससमा बाँकी रहेका लाभग्राहीले पहिलो किस्ताबापतको रकम पाउन बाँकी रहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए।
उनका अनुसार पालिकाभर हालसम्म विभिन्न राजनीतिक दल संघ संस्था तथा सरकारको अनुदानमा १ हजार ६ अस्थायी आवास निर्माण भएका छन् । बाँकी अस्थायी आवास निर्माणको काम जारी रहेको उनले जानकारी दिए।
त्यस्तै त्रिवेणी गाउँपलिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको सबै रकम अर्थात् २ हजार ६९ लाभग्राहीका लागि आएको रकम खातामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए। उनका अनुसार बाँकी रहेका ६७३ लाभग्राहीका लागि रकम माग गरेर पठाइएको छ । विवरण संकलनको काम अझै जारी छ ।
पालिकामा हालसम्म २२२ अस्थायी आवास निर्माण भएको र २६४ अस्थायी आवास निर्माणको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन कोषबाट मुसिकोट नगरपालिकामा आठ सय ६६ लाभग्राहीको रकम प्राप्त भएकामा हालसम्म ५९ लाभगा्रहीलाई रकम पठाइएको नगरपालिकाले जनाएको छ । त्यहाँ हालसम्म ९०० भन्दा बढी लाभग्राही पहिचान भएका छन् ।
बाँफीकोट गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट १ हजार ६९९ लाभग्राहीलाई रकम गएको भए पनि कार्यकारी अधिकृत नहुँदा हालसम्म कुनै पनि लाभग्राहीले अस्थायी आवास निर्माणको लागि रकम दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्थायी आवास निर्माण गर्न प्राप्त भएको रकम अपुग भएपछि संघीय सरकारलाई १अर्ब २ करोड माग गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए। रासस