काठमाडौं। नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा विक्री बन्द गरेको छ । बैंकले २९ मङ्सिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएको थियो । यो अवधिमा मागभन्दा बढी आवेदन परेको बताइएको छ ।
प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकोमा पहिलो पटक दिएको समयमै सबै डिबेन्चर विक्री भएको बैंकले जानकारी दिएको छ । बैंकले विक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री खुला गरिएको थियो । सर्वसाधारणलाई छुट्ट्याइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको बैंकले जानकारी दिएको छ । यस सातवर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने बैंकको भनाइ छ ।