काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानी विगत तीन वर्षमा दोब्बरभन्दा बढी पुगेको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष (आव) २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ थियो । त्यस्तै आव २०७८/७९ मा बढेर १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ देखिएको छ । यसरी हेर्दा निगमले गत तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेकोे हो । निगमसँग अन्तरराष्ट्रियतर्फ चारओटा र आन्तरिकतर्फ दुईओटा जहाज उडानमा छन् । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमको दाबी छ । बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्न निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको निगमको भनाइ छ ।