काठमाडौं। मेलम्ची खानेपानी विकास समिति (पानीपोखरी) पानीपोखरीले अबको तीन साताभित्र काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको बताएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौंका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो ।
समितिले एक विज्ञप्ति प्रकाशित गरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख गरेको छ । ‘सहमति अनुसार निर्माण व्यवसायी तत्काल निर्माण क्षेत्रमा परिचालन हुनेछन् ।
अबको २८ दिनको दु्रत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गर्ने गरी काम गरिनेछ,’ प्रवक्ता पन्तले भने । पथान्तरणपछि मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटर आपूर्ति हुनेछ । उक्त पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि उपलब्ध हुने उक्त विज्ञप्तिमार्फत बताइएको छ ।