विराटनगर। आधा दर्जन उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका वरिष्ठ उद्योगी राजेन्द्र राउतले सेवामूलक उद्योगतर्फ लगानी बढाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष समेत रहेका राउतले बुधवार मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको राउत कन्स्ट्रक्सनको परिसरमा २०० शøयाको मल्टी स्पेसियालिटी अस्पतालको शिलान्यास गरेका हुन् । उक्त अस्पताल निर्माण तथा सञ्चालनमा २ अर्ब ५० करोड रुपैयाँ लगानी हुनेछ ।
राउतले कोशी प्रदेशका ठूला अस्पतालबाट पनि बिरामी रेफर भएर भारत जानुपर्ने बाध्यता रहेको भन्दै त्यस्ता बिरामीको सहज उपचार सेवाका लागि अस्पताल खोल्न लागिएको बताए । २४ महीनाभित्र अस्पतालको निर्माण सकेर २६ महीनामा ‘सफ्ट ओपनिङ’ गर्ने लक्ष्य छ । अस्पतालको छतमा हेलिप्याड समेत रहनेछ । १०० शøयाबाट अस्पतालको सेवा सञ्चालन गर्ने र केही समयमै २०० शøया पुर्याइने जानकारी उनले दिए ।
‘दीर्घकालीन रूपमा अस्पताललाई ३०० शøयाको बनाइनेछ,’ उनले भने, ‘अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर चौबीसै घण्टा कार्डियाक इमर्जेन्सी र क्याथ ल्याब सेवा उपलब्ध गराउनेछ ।’ अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि नर्सिङ कलेज समेत सञ्चालन गर्ने उनको योजना छ ।