ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अस्ट्रेलियाको घरजग्गामा नेपालीको आकर्षण 

२०८० पुस, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयसमयमा सार्वजनिक सूचनामार्फत विदेशमा लगानी नगर्न सचेत गराए पनि अस्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्न नेपालीहरू आकर्षित भएको पाइएको छ । अस्ट्रेलियाको सरकारी कार्यालयले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार नेपालीहरूले १ वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी घरजग्गामा लगानी गरेको पाइएको हो । अस्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले सार्वजनिक गरेको वैदेशिक लगानीसम्बन्धी प्रतिवेदनमा सन् २०२२–२३ मा नेपालीले १२६ ओटा लगानी प्रस्तावमार्फत अस्ट्रेलियाको घरजग्गा व्यवसायमा १० करोड अमेरिकी डलर लगानी गरेका छन् । बुधवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार त्यो १३ अर्ब ३४ करोेड रुपैयाँ बराबर हुन्छ । 

सन् २०२१–२२ मा पनि नेपालीले १४० लगानी प्रस्तावबाट १० करोड डलर नै लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षको पछिल्लो त्रैमासमा भने नेपालीले ५८ ओटा लगानी प्रस्ताव पेश गरेका छन् । अघिल्लो त्रैमासमा ६८ ओटा लगानी प्रस्ताव परेको थियो । प्रतिवेदनमा अस्ट्रेलियाले आफ्नो रियल स्टेट व्यवसायमा लगानी गर्ने मुख्य १० देशको नाम उल्लेख गरेकोमा नेपाल ८औं स्थानमा छ । संख्यात्मक रूपमा चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि नेपालको बढी लगानी छ । नेपाल पछाडि इन्डोनेशिया, बेलायत र मलेशिया छन् । लगानी रकमका आधारमा भने नेपालको स्थान तल छ । रकमका आधारमा नेपालको भन्दा बढी लगानी बेलायत र मलेशियाका लगानीकर्ताको रहेको प्रतिवेदनमा उल्लेख छ । 

  •  एक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी लगानी
  •  परिवारसहित पलायन हुनेले यताको सम्पत्ति बेचेर उता किनेको अनुमान

अस्ट्रेलियाको घरजग्गा एजेन्ट कम्पनी ल्यान्ड एन्ड लिजमा सेल्स म्यानेजर रही काम गरेका ज्योतीन्द्र कडरियाका अनुसार अस्ट्रेलियामा घरजग्गाको लगानी सुरक्षित र प्रतिफल पनि राम्रो आउने भएकाले नेपालीको लगानी बढीरहेको छ । ‘अस्ट्रेलियामा घरजग्गा व्यवसाय उच्च नियमनमा रहेको र प्रतिफल सुनिश्चित रहेकाले लगानी गर्न सुरक्षित मानिन्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘नेपालीको कमाइ पनि राम्रो रहेकाले यस क्षेत्रमा लगानी गरिरहेका छन् ।’ घरजग्गा किन्दा मात्र सेटल भइने सोचाइका कारण पनि नेपालीले यसतर्फ लगानी गर्न जोड दिएका हुन् । 

उच्च शिक्षा अध्ययन, रोजगारी र विदेश बसाइका लागि अस्ट्रेलिया नेपालीको आकर्षक गन्तव्य बनिरहेको छ । विभिन्न पेशा व्यवसायमा स्थापित हुने नेपालीको संख्या बढ्दै गएको र रियल इस्टेट एजेन्ट, लेखापढी, ऋण ब्रोकर जस्ता व्यवसायमा पनि नेपाली उलेख्य रहेको कडरियाले बताए । यसले गर्दा नेपालीलाई यस क्षेत्रमा लगानी गर्न सजिलो भएको छ । अस्ट्रेलियन सरकारको गृह मन्त्रालयका अनुसार २०२१ जुनसम्ममा १ लाख २९ हजार ८७० नेपालीले स्थायी बसोवास अनुमति पाएका छन् । सन् २०११ मा यो संख्या २७ हजार मात्र थियो । 

सरकारले विदेशमा बस्ने नेपालीले बस्दाको अवधिसम्म आफ्नो आर्जनबाट विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरे पनि नेपालबाट लगानी लैजान पाउँदैनन् । विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ ले स्वदेशमै बस्ने नेपाली नागरिकलाई विदेशमा लगानी गर्न निषेध गरेको छ । सोही प्रावधानअनुसार राष्ट्र बैंकले समयसमय सूचना जारी गरी विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरीद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायत पूँजीगत प्रकृतिका कारोबार नगर्न सचेतसमेत गराउँदै आएको छ । तर, अस्ट्रेलियामा घरजग्गा व्यवसायमा भएको ठूलो लगानीले नेपालबाट समेत अवैध बाटोबाट पूँजी पलायन भएको आशंका गरिएको छ । परिवारसहित नेपालबाट पलायन भएका नेपालीले यहाँको सम्पत्ति बेचेर अस्ट्रेलियामा घरजग्गा किन्ने गरेको त्यहाँ अध्ययनरत एक विद्यार्थीले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)