ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजार बढेसँगै बढ्यो सरकारको आम्दानी

२०८० पुस, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्रको दोस्रो बजार बढेसँगै त्यहाँबाट सरकारले गर्ने आम्दानी उल्लेख्य बढेको छ । मङ्सिर २० गतेदेखि उकालो लागेको बजारबाट ८ कारोबार दिनमै सरकारले २७ करोड ८२ लाख ३२ हजार ७६६ रुपैयाँ कर संकलन गरेको छ । धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफा भएको खण्डमा सरकारलाई पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम पछिल्लो समय ८ कारोबार दिनमै नाफा कमाएका लगानीकर्ताबाट सरकारले करीब २८ करोड रुपैयाँ कर संकलन गरेको हो ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का सूचना अधिकारी सुरेश न्यौपानेले मङ्सिर २४ गतेदेखि पुस ३ गतेसम्म सरकारले पूँजीगत लाभकर शीर्षकमा उक्त रकम संकलन गरेको जानकारी दिए । उनले मङ्सिरमा कुल ३० करोड ५३ लाख रुपैयाँभन्दा बढी कर संकलन भएको समेत जानकारी गराए । उनका अनुसार मङ्सिर २४ गतेपछि सरकारले पाउने कर बढेको हो । ‘पछिल्लो समय धितोपत्रको दोस्रो बजार बढेसँग कारोबार रकम पनि बढेको छ,’ उनले भने, ‘बढेको बजारमा लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गरेको पूँजीगत लाभकरको तथ्यांकले पुष्टि गर्छ ।’

न्यौपानेका अनुसार मङ्सिरमा अघिल्लो महीनाको तुलनामा पूँजीगत लाभकर २२ करोड ११ लाख रुपैयाँभन्दा धेरैले माथि गएको छ । कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार रुपैयाँभन्दा धेरै पूँजीगत लाभकर संकलन भएको थियो । कात्तिक महीनाभरको तुलनामा मङ्सिर २४ यता ८ दिनको लाभकर तेब्बरभन्दा धेरै हो । 

अर्थतन्त्रको ऐना मानिने धितोपत्रको दोस्रो बजार पछिल्लो समय १ हजार ८३० बिन्दुबाट उकालो लाग्न थालेको हो । मङ्सिर २० गतेपछि धितोपत्र बजारको मापक नेप्से १५ प्रतिशतभन्दा धेरै बढिसकेको छ । पुस ५ गते नेप्से परिसूचक २ हजार १०९ विन्दुमा पुगेर बन्द भएको छ । लगानीकर्ताको यो उत्साहलाई कायम राख्न सरकारले पूँजीगत लाभकर घटाउनुपर्ने लगानीकर्ताको माग छ । लगानीकर्ताले पूँजीगत लाभकर घटाएर व्यक्तिलाई बढीमा ५ प्रतिशत कायम गर्न भनेका थिए । यस वर्षको बजेटमा सरकारले उक्त माग सम्बोधन नगरे पनि आगामी दिनमा ध्यान दिने लगानीकर्ताको अपेक्षा छ । नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पूँजीगत लाभमा कर लाग्ने व्यवस्था २०५८ साल साउन १ गतेदेखि लागू भएको पाइन्छ । 

आयकर ऐन २०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा सरकारले २०५८ साउन १ गतेअघि खरीद गर्ने खरीदकर्ताले उक्त मितिको अन्तिम मूल्यलाई खरीद मूल्य मानेर आफ्नो लगानी विक्रीबाट प्राप्त लाभमा अग्रिम पूँजीगत लाभकर कट्टा गर्नुपर्ने व्यवस्था गरेको थियो । हालको व्यवस्थामा लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्छ । 

अर्थ मन्त्रालय र लगानीकर्ताबीच पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ । हालको व्यवस्थाअनुसार धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफा कमाएको खण्डमा अधिकतम १० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत व्यक्तिले ७ दशमलव ५ प्रतिशतसम्म लाभकर तिर्नुपर्ने व्यवस्था छ । एक वर्षभन्दा बढी धितोपत्र कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम कायम गर्नेलाई अल्पकालीन लगानीकर्ता मान्दै सरकारले अल्पकालीनका लागि ७ दशमलव ५ र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकर तोकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)