ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकास ऋणपत्रको ब्याजदर २ वर्षयताकै न्यून

२०८० पुस, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक, वित्तीय संस्थामा तरलता (लगानीयोग्य पूँजी) थुप्रिएपछि विकास ऋणपत्रको ब्याजदर पनि २ वर्षयताकै न्यून बिन्दुमा झरेको छ । बिहीवार सरकारले विक्री गरेको ७ अर्ब रुपैयाँ बराबरको ५ वर्ष अवधिको विकास ऋणपत्रको ब्याजदर ५ दशमलव ६५ प्रतिशत कायम भएको हो । 

२०७८ कात्तिकमा विकास ऋणपत्रको ब्याजदर ५ दशमलव ६५ प्रतिशतसम्म ओर्लेको थियो । बैंकमा तरलता अभाव भएपछि २०७९ मङ्सिरमा ऋणपत्रको ब्याजदर १० दशमलव ९३ प्रतिशतसम्म पुगेको थियो । चालू आर्थिक वर्ष (आव) मा बैंकहरूमा निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा ब्याजदर घटेको हो ।

चालू आवमा जारी भएका यसअघिका ऋणपत्रमा भने ७ प्रतिशत ब्याजदर कायम भएको थियो । अधिक तरलता भएपछि बैंकहरूले ब्याज घटाएर टे्रजरी बिल्स तथा ऋणपत्रमा लगानी गरिरहेका छन् । सरकारले पनि कार्यतालिका नै परिवर्तन गरी आन्तरिक ऋण उठाइरहेको छ । 

मंगलवारसम्ममा बैंकहरूले ६० खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आवमा बैंकहरूमा २ खर्ब ५६ अर्ब निक्षेप थपिँदा कर्जा भने १ खर्ब २४ अर्ब रुपैयाँले मात्र बढेको छ । 

अधिक तरलताका कारण १ महीनामै दर्जनपटक निक्षेप संकलन उपकरण जारी गरी करीब १ खर्ब ७२ अर्ब २५ करोड रुपैयाँ उठाए पनि अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा तल छ । त्यसमध्ये ७५ अर्ब रुपैयाँ भने पुन: बजारमा नै फिर्ता भइसकेको छ । 

२०७८ कात्तिकमा ५ दशमलव ६५ प्रतिशतमा ओर्लेको विकास ऋणपत्रको ब्याजदर २०७९ मङ्सिरमा १० दशमलव ९३ प्रतिशत पुग्यो । अहिले घटेर ५ दशमलव ६५ प्रतिशत कायम भएको छ ।

तर, मंगलवार औसत अन्तरबैंक ब्याजदर २ दशमलव ७१ प्रतिशत रहेको छ । ब्याजदर कोरिडोर अनुसार यो ब्याजदर ३ प्रतिशतभन्दा माथि कायम हुनुपर्छ । 

अन्तरबैंक ब्याजदर अझै सीमाभन्दा तल कायम भएपछि राष्ट्र बैंकले शुक्रवार २५ अर्ब रुपैयाँ बराबरको १४ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गर्दै छ । बुधवार पनि २५ अर्बकै निक्षेप संकलन उपकरण जारी गरेको थियो । 

मंगलवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव २१ प्रतिशतमा कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार थप ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तारको क्षमता छ । अधिक तरलता भएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत दरहरू घटाइसकेको छ । बैंकहरूले पनि ब्याजदर घटाएका छन् । ब्याजदर घट्दै गएकाले आगामी दिनमा कर्जा प्रवाह वृद्धि हुने र ब्याजदर पनि लक्षित सीमाभित्र कायम हुने राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा विश्लेषण गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)