काठमाडौं। नबिल बैंक र उपाय बिजनेश सोलुसन्सबीच बैंकको ग्राहकको आवश्यकताअनुसार प्लेटफर्म उपलब्ध गराउने गरी सम्झौता भएको छ । यस साझेदारीअन्तर्गत बैंकका ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागि वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापनका लागि उपायबाट सेवा लिनेछन् । उपायले व्यावसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुका साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने बताइएको छ ।
बैंकका एसएमई, एमएफ एण्ड एसबी प्रमुख अमित श्रेष्ठ तथा उपायका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकका एसएमई, एमएफ एण्ड एसबी प्रमुख श्रेष्ठले नबिल बैंक, साना तथा मझौला उद्यमीलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्न आकर्षक ब्याजदरमा यथाशीघ्र ऋण उपलब्ध गराउनुका साथै विभिन्न सुविधा र सेवा उपलब्ध गराउन सधैं अग्रसर रहेको बताए । उपायकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नबिल बैंकसँगको सहकार्यले उद्यमीलाई निकै फाइदा हुने बताइन् ।