काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यालय शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, 'तपाईंहरू धेरैलाई संघय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ । नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलापसम्बन्धी ऐन र संघय शिक्षा विधेयक संसद्बाट पारित गराउन पहल हुन्छ । यो ऐन सरकारको उच्च प्राथमिकतामा छ ।'
सो विधेयकमा शिक्षकका जायज माग सम्बोधन गरिने र विद्यालय शिक्षालाई थप सबल बनाउने प्रधानमन्त्रीको भनाइ छ । 'तपाईं शिक्षकले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट दबाब दिनुभयो । यसले सरकारलाई सहयोग पुगेको छ,' प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूले अहिलेको मस्यौदामा जुन सुझाव दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव माग सम्बोधन गरिनेछ ।'