ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्र संकटमा होइन दबाबमा छ : प्रधानमन्त्री

२०८० पुस, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र अहिले संकटमा नभई दबाबमा मात्र रहेको दाबी गर्नुभएको छ । मोरङ व्यापार संघले आयोजना गरेको ‘ट्रेड एक्स्पो २०२३’ को शुक्रवार विराटनगरमा उद्घाटन गर्दै दाहालले अर्थतन्त्रका महत्त्वपूर्ण सूचकमा क्रमिक सुधार आएको बताउनुभयो ।

अहिले अर्थतन्त्र संकटमा रहेको भाष्य सृजना गरेर उद्योगी व्यवसायी र सर्वसाधारणलाई निराश पार्ने प्रयत्न भइरहेको र त्यसलाई चिर्न जरुरी रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । मूल्यवृद्धि नियन्त्रणमा रहेको, राजस्व बढ्न थालेको, विदेशी मुद्राको सञ्चिति बढेको र भुक्तानी सन्तुलन सहज बनेकाले मुलुकको अर्थतन्त्र संकटमा नभई दबाबमा रहेको दाहालको दाबी थियो ।

वार्षिक औसत महँगीदर ७ दशमलव ११ प्रतिशत रहेकोमा अघिल्लो महीना त्यसमा कमी आई ५ दशमलव ३८ प्रतिशतमा झरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको बताउनुभयो । निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया समेत अगाडि बढेको जानकारी उहाँले दिनुभयो । ‘निर्माण व्यवसायीले भुक्तानी पाएसँगै अर्थतन्त्र चलायमान हुनेछ भने अर्कातर्फ नयाँ आयोजनाको निर्माण प्रक्रियाले गति लिनेछ,’ उहाँले भन्नुभयो, ‘अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्त्वपूर्ण पहल हो ।’

निजीक्षेत्रको प्रतिनिधि संस्था मोरङ व्यापार संघले विगतका वर्षमा समेत राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरका मेला, महोत्सवको आयोजना गरी यस क्षेत्रको उत्पादनमा प्रोत्साहन, व्यापार प्रवर्द्धन एवं अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्रधानमन्त्री दाहालले बताउनुभयो । देशको अर्थतन्त्र चलायमान गराउन प्रदेशका कृषिजन्य वस्तु प्रवर्द्धन एवं स्वदेशी उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेशका पर्यटकीय एवं धार्मिक गन्तव्यको प्रचार–प्रसारलगायत प्रवर्द्धनात्मक कार्यका लागि यस्ता मेलाले सहयोग पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको विराटनगरले अहिलेसम्म कसैसँग केही नमागी अघि बढ्दा राज्यले ध्यान नदिएको गुनासो गरेका थिए । पञ्चायतकालमा राज्यले विराटनगरलाई हेला गरे पनि यहाँको निजीक्षेत्रले संरक्षण गरेको भन्दै कोइरालाले अब विराटनगरलाई राज्यले हेर्नुपर्ने बताए । विराटनगरको चक्रपथलाई बहुवर्षीय योजनामा राखेर निर्माण गर्न र विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन प्रधानमन्त्रीलाई उनले आग्रह गरे । बैंकहरूले किसानलाई सहुलियतमा कर्जा नदिएको उल्लेख गर्दै उनले राष्ट्र बैंकका गभर्नरसँग कुरा गरेर समस्याको समाधान गर्न समेत दाहाललाई आग्रह गरेका थिए ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले प्रधानमन्त्री दाहालसमक्ष विराटनगरमा स्थायी प्रदर्शनी स्थल निर्माण गर्न, कार्गो रेलमार्गको सन्धिमा परिमार्जन गर्न, उद्योगमा भइरहेको विद्युत् कटौती रोक्न र विराटनगरको निर्माणाधीन चक्रपथ चाँडो निर्माण गराउन आग्रह गरेका थिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यको केन्द्रबिन्दु बन्दै गएको विराटनगरलाई पर्यटकसँग जोडेर योजनाबद्ध विकास गर्नुपर्ने बताए । त्यस अवसरमा प्रधानमन्त्री दाहालले उद्योगी महेश जाजुलाई सम्मान गर्नुभएको थियो ।

विराटनगर महानगरपालिका–२ स्थित शंकरपुरमा अवस्थित सो मेलामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका २४० ओटा व्यापारिक कक्ष रहेका छन् । मेला पुस १६ गतेसम्म रहने संघका उपाध्यक्ष अनिल साहले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)