काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले युवालाई विदेश जानुभन्दा स्वदेशमै डिजिटल प्लेटफर्ममा काम गर्न आह्वान गरेका छन् । ‘सिआइएन युथ आन्ट्रपे्रनर फोरम नेपाल स्टार्टअप फेस्ट २०२३’ उद्घाटन गर्दै अर्थमन्त्री महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने डिजिटल प्लेटफर्ममार्फत धेरै काम गर्न सक्ने बताएका हुन् ।
‘झन्डै ४० प्रतिशत युवा यो क्षेत्रसँग जोडिएको कार्यक्रममा बताइयो । १२ कक्षापछि विदेश जाने चलन छ, त्यसलाई रोक्नुपर्छ,’ मन्त्री डा. महतले भने, ‘१२ कक्षापछि विदेश जाने लहर रोक्न यही प्लेटफर्ममार्फत काम थाल्न अनुरोध गर्दछु ।’
डिजिटल प्लेटफर्मले व्यवसायलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिने अर्थमन्त्री महतले बताए । जो उत्पादनमा लागेका छन्, उनीहरूले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै पहुँच पुर्याउन सक्ने तथा न्यून खर्चमा आम्दानी बढाउन सक्ने उनको भनाइ छ । ‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरू सहज महसुस गर्छन्,’ उनले भने ।’
आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी उनले बताए । ‘नेपाली युवालाई जुन क्षेत्रमा काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सक्छ, त्यसमा सघाउन सरकार तयार छ ।’ नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले अहिले पनि ठूलो मात्रामा विदेशमा सफ्टवेयर निर्यात हुने गरेको बताए । उनले भने, ‘आईटी क्षेत्रमा निर्यात बढिरहेको छ, आउँदा दिनमा अझ बढ्छ ।