काठमाडौं । पहिलो : सरकारी तहबाटै (राष्ट्रिय योजना आयोग) २०७७ वैशाखमा स्टार्टअप (नवप्रवर्तन) व्यवसायलाई सघाउन आवेदन माग गरिएको थियो । सोही वर्षको मङ्सिरसम्ममा ६९९ जनाले व्यावसायिक योजनासहित आयोगमा प्रस्ताव बुझाए ।
दोस्रो : सरकारी निकाय उद्योग विभागबाट झन्डै ९ महीनाअघि (२०७९ चैत) पनि यही प्रयोजनका लागि आवेदन माग गरिएको थियो । २१ दिने म्यादमा ३८२ जनाले कर्जाका लागि व्यावसायिक योजनासहित आवेदन दिए ।
तेस्रो : निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले २०८० भदौमा २ दिने ‘नेपाल स्टार्टअप नेशन सम्मेलन–२०३०’ आयोजना गर्यो । त्यसअघि महासंघले ‘स्टार्टअप सम्मेलन कन्फेरेन्स अन स्टाब्लिसिङ बिजनेश इन्कुबेटर्स–२०२२’ नामको कार्यक्रम २०७९ साउनमा आयोजना गरेको थियो । त्यतिबेला ५० व्यवसाय र ५० मेन्टर अभियानसहित महासंघले उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो ।
चौथो : निजीक्षेत्रकै अर्काे संस्था नेपाल उद्योग परिसंघले दुईपटक स्टार्टअपकेन्द्रित कार्यक्रम आयोजना गरिसकेको छ । परिसंघले शनिवार पनि ‘स्टार्टअप फेस्ट–२०२३’ आयोजना गरेको छ । ‘स्टार्टअपका लागि १०० करोडको इन्भेस्टमेन्ट पुल’ भन्दै परिसंघअन्तर्गतको युवा उद्यमी फोरम (सीएनआईवाईईएफ)ले स्टार्टअप फेस्ट आयोजना गरेको हो । सन् २०२२ मा संस्थाले पहिलो संस्करण आयोजना गरेको थियो । त्यसमा १० जनाले ‘आइडिया पिच’ गरेका थिए ।
लगानी जुटाउनु नै मुख्य चुनौती हुने स्टार्टअप व्यवसायलाई सघाउन सरकार र निजीक्षेत्रबाट हुने प्रतिबद्धताले हौसिने स्टार्टअपहरूले वित्तीय स्रोत पाउन सकेको अवस्था भने देखिँदैन । सरकार र निजी दुवै क्षेत्रबाट आइडियामा लगानी गर्ने भनेर बजेटसमेत विनियोजन भएको छ । लगानी सहजीकरण गर्न त्यतिबेला राष्ट्रिय योजना आयोगले आवेदन मागेको देखिन्छ । तर, त्यो कार्यक्रम नै असफल भएको थियो । अहिले भने उद्योग विभागले स्टार्टअपलाई कर्जा उपलब्ध गराउने भनेको छ ।
९ महीना हुनै लाग्दासमेत आवेदनकर्ताले कर्जा पाउने निश्चित छैन । २ किस्तामा गरेर प्रतिस्टार्टअप अधिकतम २५ लाख रुपैयाँ कर्जा उपलब्ध गराउने भनेर विभागले आवेदन माग गरेको थियो । सरकारले यस्तो कार्यक्रमका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, त्यस सम्बन्धमा अहिलेसम्म निर्णय भएको छैन । विभागका सूचना अधिकारी रमिला भण्डारीले स्टार्टअपको संशोधित कार्यविधिको मस्यौदा पास भइनसकेको बताइन् । अर्थ मन्त्रालयबाट कार्यविधि पास भएर आएपछि आवेदन परेकालाई कर्जा लिन सकिने उनले बताइन् ।
कर्जा कसरी दिने, कुन बैंकले दिने, कर्जा सुरक्षण कसरी र ग्यारेन्टी कसरी गर्ने भन्नेमा निर्णय हुन नसक्दा ढिलाइ हुँदै आएको छ । आइडिया परियोजनालाई धितोको रूपमा नलिने, अर्थ मन्त्रालयले खर्च नभएका शीर्षकको बजेट रोक्दा र अन्तिम अवस्थामा बजेट खर्च हुँदैन भनेर निकासा नदिँदा गतवर्ष स्टार्टअप कर्जा प्रवाह हुन नसकेको उनको भनाइ छ ।
‘मुख्यत: निक्षेप तथा कर्जा सुरक्षण कोषले परियोजनालाई धितो नमान्ने हुँदा समस्या भएको हो,’ भण्डारीले भनिन्, ‘कोषले कार्यक्रमका लागि विनियोजन भएकोमध्ये २० प्रतिशत बजेट डिपोजिट गरिदिनुपर्छ भनेको छ, त्यसले गर्दा गतवर्ष पनि कर्जा दिन ढिलाइ भएको हो ।’ सरकारले पनि आइडिया आउँदाबित्तिकै लगानी गरिहाल्ने अवस्था नभएको सरकारी अधिकारी बताउँछन् । आइडिया कत्तिको उपयुक्त हो, लगानीपछि प्रतिफलको सुनिश्चितता, बजारको पहुँच, सूचनाप्रविधि (आईटी)को प्रयोग र अरू आइडियाभन्दा पृथक् छ/छैन भन्ने कुराहरू मूल्यांकन गर्नै समय लाग्ने गरेको छ ।
उनले यी विषय स्पष्ट भएर कार्यविधि पारित भएमा चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा केही परियोजनालाई कर्जा दिन सकिने बताइन् । सरकारले कर्जा दिन नसकेको एउटा पाटो भयो भने अर्काेतर्फ निजीक्षेत्रले आयोजना गरेका फोरमहरूमा पनि आइडिया पिच भएका हुन्छन् । त्यसरी पिच भएका आइडियामाथि व्यक्तिगत लगानीकर्ता वा कम्पनीले लगानी गर्न सक्छन् । तर, फोरममा छनोट भएका आइडियामा पनि न्यून मात्रामा लगानी भएको देखिन्छ ।
परिसंघका अनुसार गतवर्ष १० जनाले आइडिया पिच गरेकोमा १/२ जनालाई मात्रै लगानी जुटाउन सकिएको छ । यस्तै महासंघले गतवर्ष नै गरेको स्टार्टअप सम्मेलन ‘कन्फेरेन्स अन स्टाब्लिसिङ बिजनेश इन्कुबेटर्स–२०२२’ मा ५० व्यवसाय र ५० मेन्टर अभियान शुरू गरिएको थियो । आइडिया छनोट हुँदैमा लगानीकर्ताले लगानी गरिहाल्छ भन्ने सोच राख्न नहुने यसका जानकार बताउँछन् ।
शनिवार आयोजना भएको स्टार्टअप फेस्टमा पनि महासंघअन्तर्गतको स्टार्टअप एन्ड इनोभेशन फोरम सभापति जुना माथेमाले आइडिया पिच गर्दैमा लगानी आइहाल्छ भन्ने मानसिकता राख्न नहुने बताइन् । ‘५/१० मिनेटको आइडिया पिचमै लगानी आउँछ भन्ने हुँदैन,’ माथेमाले भनिन्, ‘लगानीकर्ताले कसरी विश्वास गर्ने र लगानी गर्ने भन्ने विषय मिहिन ढंगले हेरेको हुन्छ । अहिले त कस्तो संस्कार विकास भएको छ भने अफिस आकर्षक बनाऊ, काम भन्या यस्तै हो ।’
उनले विश्वास जित्ने, लगानीलाई कसरी बढीभन्दा बढी उपयोग गर्न सकिन्छ भन्ने कुरामा लगानीकर्ताले परिपक्वता खोज्ने भएकाले आइडियाका साथै यी गुण पनि विकास गर्नुपर्ने सुझाइन् । स्टार्टअपलाई विकल्पका रूपमा राखेर व्यवसायमा आउन नहुने उनको भनाइ छ । स्टार्टअप सफल नभए विदेश जानुको विकल्प नभएको छलफलका सहभागीको गुनासोको जवाफ दिने क्रममा उनले भनिन्, ‘विकल्पमा राख्ने हो भने कहिल्यै सफल भइँदैन, त्यसैले शतप्रतिशत समर्पित भएर लाग्नुपर्छ ।’
नेपाल प्राइभेट इक्विटी एशोसिएशनका अध्यक्ष सिद्धान्तराज पाण्डेले पनि लगानीकर्ताले आइडिया तथा गजब परियोजना हेरेर मात्रै लगानी नगर्ने बताए । ‘लगानीकर्ताले कम्पनी तथा आइडियामा लगानी गर्दा धेरै कुरा हेर्ने र विचार गर्ने गर्छ,’ पाण्डेले भने, ‘म्यानेजमेन्ट, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, स्मार्टनेस, नेटवर्थ, वित्तीय र बजार व्यवस्थापन, परिवर्तनलाई कसरी स्वीकार गर्छ जस्ता विषय गहन रूपमा हेरेर मात्रै लगानी गर्छन् ।’