वीरगञ्ज। भन्सार विभागले ५० प्रतिशत मूल्यांकन बढाएपछि विवादित बनेको लाइटरको जाँचपासमा नयाँ झमेला थपिएको छ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले धरौटीमा लाइटर छोड्न नमानेपछि आयातकर्ता र भन्सार प्रशासनबीच विवाद बढेको हो ।
भन्सार प्रमुख रामप्रसाद मैनालीले आयातकर्तालाई लाइटर धरौटीमा छोड्न नमिल्ने बताएपछि आयातकर्ता आक्रोशित भएका छन् । आयातकर्ताका प्रतिनिधि शुक्रवार धरौटीमा लाइटर छुटाउन गएका थिए । भन्सार प्रमुखले धरौटीमा छुटाउन नमिल्ने बताएपछि आयातकर्ताका प्रतिनिधिसँग केही बेर कार्यकक्षमै भनाभन भएको थियो ।
भन्सार प्रमुखले ‘कानून लत्याएर स्वेच्छाचारी प्रवृत्ति देखाएको’ आरोप आयातकर्ताले लगाएका छन् । गत मङ्सिर १५ गते भन्सार विभागले लाइटरको मूल्यांंकन प्रतिकार्टोन ६० अमेरिकी डलर पुर्याएर मातहतका कार्यालयलाई पत्राचार गरेको थियो । यसअघिको मूल्यांकन ४० डलर थियो ।
भन्सारले मूल्यांकन बढाउनुअघि नै आयात प्रक्रियामा गइसकेको र भन्सारमा आइसकेको लाइटरमा समेत बढेको मूल्यांकन लागू गरेको छ । यसले आयातकर्तामाथि जरीवानाको भार थपिएको छ ।
भन्सार विभागको कदमविरुद्ध आयातकर्ता उच्च अदालत पाटनमा पुगेका छन् । अदालतले भन्सार विभागलाई मूल्यांकन वृद्धिको कारण देखाउन भनेको छ । यो विषय अदालतमा पुगेसँगै आयातकर्ताले धरौटीमा छुटाइरहेकोमा भन्सारले अस्वीकार गरेपछि आयातकर्ता अन्योलमा परेका छन् ।
अन्य नाकाहरूबाट बढेकै मूल्यांकनमा जाँचपास भइरहेको भेटिएपछि धरौटीमा नछोडिएको र ‘तत्कालका लागि कागजपत्र रोकिएको’ भन्सार प्रमुख मैनालीले बताए । भन्सार ऐनमा भन्सार अधिकृतको मूल्यांकनमा चित्त नबुझेमा आयातकर्ताले मूल्यांकन पुनरवलोकन समितिमा निवेदन दिन सक्ने र यस्तो अवस्थामा मूल्यांकनअनुसारको महशुल धरौटीका रूपमा सम्बद्ध भन्सार कार्यालयमा राख्नुपर्ने उल्लेख छ ।