ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकरलाई गभर्नरको सल्लाह : ‘गरी खानेलाई ऋण दिनुस्’

२०८० पुस, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकरहरूलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स संघको ३७औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छुट्ट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए । 

आफूले शनिवार चितवनको एउटा पशु फार्म अवलोकन गरेको जानकारी दिँदै गभर्नर अधिकारीले भने, ‘फार्म सञ्चालकले ५० लाख ऋणमा १०७ सातओटा गाईभैंसी पालेर मासिक ६ लाख रुपैयाँ आम्दानी गर्नुभएको रहेछ । यो राम्रो काम हो ।’ ठगी खानेले यत्तिको फार्म देखाएर करोडौं ऋण लिने गरेको उनले बताए । बैंकहरूलाई अर्काे बैंकको ऋणी तान्नुभन्दा नयाँ व्यवसायी जन्माउन सुझाउँदै गर्भनर अधिकारीले थपे, ‘वर्षमा यति व्यवसायी नयाँ जन्माएँ भनेर गर्व गर्ने वातावरण बनाउनुहोस् ।’

बैंकहरूमा लगानीका लागि तरलताको अभाव नभएको भन्दै उनले विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेको स्पष्ट पारे । 

कार्यक्रममा संघका अध्यक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र उपाध्यक्ष माछापुच्छे्र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरूको वर्तमान अवस्थाबारे जानकारी 

गराएका थिए ।

संघका कार्यकारी निर्देशक अनिल शर्माले पछिल्लो समय संघले गरेको क्रियाकलापबारे जानकारी गराए । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सम्पन्न गरेका तत्कालीन बैंक अफ काठमाण्डूका श्रवण मास्के र नेपाल बैंक लिमिटेडका कृष्णबहादुर अधिकारीलाई सम्मान गरिएको थियो । 

यसैगरी बैंकिङसँगै विभिन्न क्षेत्रमा रहेर सेवा पुर्‍याउने कुलचन्द्र गौतमलाई सम्मान घोषणा गरिएको थियो ।

संघमा पाँच नयाँ सदस्य चुनिएका छन् । संघको सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन भएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)