ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिबन्धको बेलाभन्दा पनि कम आयात

२०८० पुस, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

दुई वर्षअघि यही बेलातिर नीति निर्मातालाई अत्याएको आयात घट्नुलाई राम्रो मान्नुपर्नेमा यसले अर्थतन्त्र चलायमान हुन नसकेको र आर्थिक वृद्धिका लागि बढ्नुपर्ने बजार माग घटेको देखाएकाले सबैका लागि चिन्ताको विषय बनेको छ ।

काठमाडौं। चालू आर्थिक वर्ष (आव) को ५ महीनामा केही वस्तु आयातमा प्रतिबन्ध लागेको गतवर्षको सोही अवधिको भन्दा पनि कम वस्तु आयात भएको तथ्यांक आइतवार भन्सार विभागले सार्वजनिक गरेको छ । यसले सरकार र केन्द्रीय बैंकको प्रयास हुँदाहुँदै पनि आर्थिक गतिविधि चलायमान हुन नसकेको तथा बजारमा माग सृजना नभएको देखाउँछ । 

अघिल्लो आव २०७९/८० को साउनदेखि मङ्सिरसम्ममा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो । यसपालि ६ खर्ब ४२ अर्ब २० करोडमा सीमित भएको छ । यसपालिको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ३९ प्रतिशतले कम हो । 

गतवर्ष भदौ १४ गतेसम्म २०७९ वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा लगाइएको प्रतिबन्ध कायमै थियो । फलस्वरूप उक्त अवधिसम्म एम्बुलेन्स र शववाहनबाहेकका कार, जीप भ्यान, औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना आयात हुन पाएको थिएन । 

भदौ १४ पछि कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना आयात प्रतिबन्ध फुकुवा गरिएको थियो । बाँकी वस्तुको आयात प्रतिबन्ध मङ्सिर मसान्तसम्म कायमै थियो । पोहोर पुस १ गतेबाट बाँकी चार वस्तु आयातमा कायम प्रतिबन्ध हटे पनि कुल आयात नबढेको भन्सारको तथ्यांकले पुष्टि गरेको छ । 

दुई वर्षअघि यही बेलातिर नीति निर्मातालाई अत्याएको आयात घट्नुलाई राम्रो मान्नुपर्नेमा यसले अर्थतन्त्र चलायमान हुन नसकेको र आर्थिक वृद्धिका लागि बढ्नुपर्ने बजार माग घटेको देखाएकाले सबैका लागि चिन्ताको विषय बनेको छ । 

कात्तिकको तुलनामा मङ्सिरमा आयातनिर्यात दुवै बढेको देखिए पनि यसले खासै अर्थ राख्दैन । गत कात्तिकमा दशैं, तिहारजस्ता प्रमुख पर्वका कारण लामो बिदा परेकाले अरू महीनाको तुलनामा आयातनिर्यात घटेको देखिएको हो । दशैं र तिहारका कारण कात्तिकमा १६ दिन मात्रै सरकारी कार्यालय र बैंक, वित्तीय संस्था खुलेका थिए । 

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मङ्सिरमा १ खर्ब २९ अर्ब ७० करोड रुपैयाँको वस्तु आयात हुँदा १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । कात्तिकमा १ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात गर्दा ९ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । 

चालू आवको ५ महीनाको समग्र वैदेशिक व्यापार भने गतवर्षको सोही अवधिको तुलनामा ३ दशमलव ६४ प्रतिशतले कम हो । गत आवको मङ्सिरसम्ममा ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा यस वर्ष सोही अवधिमा ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ । 

गत मङ्सिरसम्ममा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो पोहोरको तुलनामा ६ दशमलव शून्य ९ प्रतिशतले कम हो । 

राष्ट्र बैंकले बाह्य क्षेत्रको अवस्था सबल भएको भन्दै मौद्रिक नीतिको समीक्षा गर्दा ब्याजदरसमेत घटाइसकेको छ । त्यसपछि बैंकहरूले पनि ब्याजदर घटाएर कर्जा प्रवाहमा जोड दिइरहेका छन् । 

विदेशी मुद्राको सञ्चिति सहज भएपछि सरकारले आयात प्रतिबन्ध खुला गर्नुका साथै नेपाल राष्ट्र बैंकले समेत आफ्नो नीतिमा पुनरवलोकन गरेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आवको असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १० दशमलव २ प्रतिशतले बढेर २०८० कात्तिकमा १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । यो सञ्चिति १३ दशमलव ६ महीनाको वस्तु र ११ दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले बताएको छ । 

आयातनिर्यात घटेपछि व्यापारघाटा पनि घटेको छ । गतवर्षको ५ महीनामा ५ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा भएकोमा चालू वर्षको सोही अवधिमा ५ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)