ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राधिकरणले थप पाँच उद्योगको लाइन काट्यो

२०८० पुस, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। डेडिकेटेड फिडर र टं्रक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै शुक्रवार चार उद्योगको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले आइतवार थप ५ उद्योगमा त्यसै गरेको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतवार बेलुकी सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, त्रिवेणी स्पिनिङ मिल्स र अशोक स्टिलको लाइन काटिएको हो । 

उनका अनुसार डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरेबापत सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख, लक्ष्मी स्टिलले ७४ करोड १० लाख, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले ६१ करोड २० लाख, त्रिवेणी स्पिनिङ मिल्सले ८६ करोड ९० लाख र अशोक स्टिलले ७४ करोड ५० लाख रुपैयाँ प्राधिकरणलाई तिर्नुपर्ने देखिएको छ । प्राधिकरणले शुक्रवार अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको थियो । 

डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुलका विषयमा विवाद कायम रहेकै बेला चारओटा उद्योगको बिजुली काटेकोमा निजीक्षेत्रले असन्तुष्टि व्यक्त गरिरहेका बेला प्राधिकरणले थप उद्योगको लाइन काटेको छ । लाइन काटेको विषयलाई लिएर निजीक्षेत्रका प्रमुख संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आइतवार संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेका थिए । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौं आइपुग्न ढिला भएपछि उक्त पत्रकार सम्मेलन सोमवारका लागि सारिएको छ । 

उता निजीक्षेत्रको अर्को संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले आइतवार एक विज्ञप्ति जारी गरी प्राधिकरणको पछिल्लो कदमले निजीक्षेत्रका उद्यमी व्यवसायीको मनोबल कमजोर बनाएको प्रतिक्रिया जनाएको छ । संघले लाइन काटिएका उद्योगमा तत्काल विद्युत् आपूर्ति सुचारु गरी दुवै पक्षले जित्ने गरी समाधान खोज्न आग्रह गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)