ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुस २९ गते लाभांश पारित गर्दै यी ४ कम्पनी, कसले कति दिंदैछन् लाभांश ?

२०८० पुस, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही पुस २९ गते लाभांश पारित गर्दैछन् । 

यूनिभर्सल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीका आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौं दिउँसो १२ बजेर १५ मिनेटमा शुरू हुनेछ । सभाले लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस्तै, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बानेश्वर ब्याङ्क्वेट, बानेश्वर, काठमाडौंमा उक्त दिन बिहान १० बजे सभा शुरू हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अन्तिम स्वीकृति दिनेछ । हाल कम्पनीको चुक्ता पूँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले १ अर्ब १९ करोड ८७ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको नियमावली संशोधन गर्ने विषय पनि सभका लागि तय भएको छ ।

साधरण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । यस वर्ष पनि कम्पनीले कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । यस वर्ष भने कम्पनीले नगद लाभांशमा जोड दिएको हो । 

त्यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पुस २९ गते नै साधारण सभा गर्न लागेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे नेप्सेकै कार्यालय शान्तिमार्ग, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिशत सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक समितिले प्रस्ताव गरेअनुरूप हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६४ प्रतिशत दरले हुन आउने ६४ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

शेयरधनीहरूलाई सभामा उपस्थितिका लागि १० बजेदेखि हाजिरी पुस्तिका खुला गरिने जानकारी नेप्सेले दिएको छ । गत वर्ष शतप्रतिशत नगद लाभांश वितरण गरेको नेप्सेले यस वर्ष भने कम लाभांश वितरण गर्न लागेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत लाभांश वितरण गर्ने 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यस वर्ष ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले लाभांशसमेत अन्य विविध प्रस्ताव पारितका लागि पुस २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ । हाल संस्थापक शेयरधनीहरूको मात्र स्वामित्व रहेको यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने तयारीगरेको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)