ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्टार्टअपमा ५०० आवेदन : लगानीकर्ताको रोजाइमा पाँच मात्रै

२०८० पुस, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल स्टार्टअप फेस्ट–२०२३ मा ५०० भन्दा बढी परियोजनाको आवेदन परे पनि लगानीकर्ताको रोजाइमा पाँचओटा स्टार्टअप मात्र परेका छन् । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले उक्त फेस्टलाई लक्ष्य गरेर १ महीनादेखि स्टार्टअप परियोजना माग गरेको थियो । उक्त अवधिमा ५०० आवेदन परे पनि अधिकांश स्टार्टअपका विभिन्न पक्षमा कमजोर देखिएपछि नौओटा मात्रै प्रस्तुति (आइडिया पिच) का लागि छानिएका थिए । प्रस्तुतीकरण दिनेमध्ये पाँचओटा स्टार्टअप परियोजनामा लगानीकर्ताको चासो देखिएको हो । 

परिसंघको युवा उद्यमी मञ्चका उपाध्यक्ष सुगम घिमिरेले आवेदन संख्या राम्रो भए पनि आइडिया पिच र त्यसलाई सघाउने खालको कागजात नभएको बताए । ‘आइडियादेखि वित्तीय विवरणका साथै कम्पनी पनि उपयुक्त देखिएन,’ घिमिरेले भने । शनिवार काठमाडौंमा सम्पन्न भएको दोस्रो संस्करणको फेस्टको अन्तिम प्रतिस्पर्धामा पुगेकामध्ये गल्ली म्याप्स्, टावर अर्गानिक्स्, एसटीओएमपी, पाइटेक नेपाल र ड्रप सिपिङ स्टार्टअप परियोजनामा लगानीकर्ताले इच्छा देखाएका हुन् । 

यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायबल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टिम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् । छानिएका स्टार्टअप परियोजनामा थप अध्ययन गरेपछि लगानीको विषय स्पष्ट हुने घिमिरेले जानकारी दिए । 

स्टार्टअपमा आकर्षण देखिए पनि आइडियालाई कसरी सान्दर्भिक बनाउने, लगानीकर्तालाई कसरी आकर्षित गर्ने र कम्पनीका विषयमा कसरी प्रस्तुति दिँदा लगानी ल्याउन सकिन्छ भन्ने विषयमा जनचेतना नपुगेको देखिन्छ । सरकारी तथा निजीक्षेत्रबाट स्टार्टअपलाई सघाउने नीति र सहजीकरणको वातावरण बन्दै गर्दा आइडियाको प्रस्तुतीकरण फितलो हुने देखिएको छ । 

  • ल एक महीनामा ५०० आवेदन परे पनि नौओटामात्रै प्रस्तुतिका लागि छनोट
  • ल अधिकांशमा आइडियामात्र आए, त्यसलाई सघाउने कागजातको अभाव
  • ल गल्ली म्याप्स्, टावर अर्गानिक्स्, एसटीओएमपी, पाइटेक नेपाल र ड्रप सिपिङमा लगानीकर्ता इच्छुक

सयौंको संख्यामा आवेदन पर्दा पनि लगानीकर्ताको रोजाइमा कम स्टार्टअप परियोजना परेका छन् । स्टार्टअपमा लगानी गर्न कम्पनीहरू इच्छुक भएको स्पष्ट देखिए पनि आइडियाहरू सान्दर्भिक नहुँदा समस्या हुने गरेको सरोकारवाला बताउँछन् । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्टार्टअप उद्यमलाई सघाउने गरी नीति ल्याउने तयारी भएको बताएका छन् । उक्त कार्यक्रममा उनले हाल नेपालमा सूचनाप्रविधिको बढ्दो प्रयोग एवं नवीन व्यावसायिक सोचयुक्त उद्यमशील संस्कारको विकास भइरहेको बताए । राष्ट्रिय स्टार्टअप उद्यम कार्यविधिको मस्यौदा तर्जुमा गरेको बताए । कार्यविधि तर्जुमा भएपछि स्टार्टअप उद्यमीहरूलाई २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा ३ प्रतिशत ब्याजमा उपलब्ध गराउने उनले बताए । 

नेपाल उद्योग परिसंंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघ युवा उद्यमीलाई साथमा लिएर स्टार्टअप इकोसिस्टम निर्माण गर्न लागिपरेको उल्लेख गरे । उनले नवीन सोच भएका स्टार्टअपलाई लगानी जुटाउने र स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना विकास गराउने उद्देश्यले फेस्ट आयोजना गरिएको बताए ।

फेस्टमा स्टार्टअप अफ द इयर अवार्ड हाम्रो पात्रो हेल्थलाई प्रदान गरिएको छ । बेस्ट इनोभेशन अफ द इयर अल्लोई प्रालिलाई, कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामालाई, ग्रीन स्टार्टअप अफ द इयर अवार्ड डोको रिसाइकल्सलाई र सोसियल इन्टरप्राइज अफ द इयर अवार्ड चायो बायोलाई प्रदान गरिएको छ । त्यसै गरी इनेबलर्स अफ आन्त्रप्रेनर्स इन्भेस्ट फर इम्प्याक्ट नेपाललाई, वुमन इन आन्त्रप्रेनर्स डा. प्रतिभा पाण्डेलाई, बेस्ट स्टार्टअप आइडिया रे: मिनी ई–स्कूटरलाई र बेस्ट पिचडेक अवार्ड एसटीओएमपीलाई प्रदान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)