काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काट्न थालेपछि नेपाल उद्योग परिसंघले टाइम अफ डे (टीओडी) मीटरको तथ्यांक माग गरेको छ । प्राधिकरणका अधिकारीले उक्त तथ्यांक दिन नसकिने बताएका छन् ।
परिसंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी टीओडी मीटरको तथ्यांक उपलब्ध गराए प्राधिकरणको मागबमोजिम महशुल भुक्तानी गर्न सकिने स्पष्ट पारेको हो ।
प्राधिकरणले २०७५ वैशाख ३१ गते देशभर लोडशेडिङ अन्त्य भइसकेपछिको समयको बिलिङ गरेको उद्यमीहरूको भनाइ छ ।
पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगीहरूले आफ्नो नियमित समयको महशुल तिर्दै आएको र विवादित समयको अतिरिक्त महशुल नतिरेको बताए ।
‘लोडशेडिङ अन्त्यपछिको बिलमा हाम्रो मुख्य प्रश्न हो । प्राधिकरणले विद्युत् नियमन आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइनका लागि प्रिमियम दर तोकेभन्दा पहिलाको बिलिङ गरेको छ,’ अध्यक्ष अग्रवालले भने, ‘२०७२ देखि ७५ सालसम्मको जुन विवाद छ, त्यसको बिलमात्रै हामीले तिरेका छैनौं । हो, त्यही समयको टीओडी मीटरको तथ्यांक हामीले प्राधिकरणसँग मागेका हौं, प्राधिकरणले दिन मानिरहेको छैन ।’
रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले प्राधिकरणले उद्योगहरूको लाइन काटेर अपरिपक्व काम गरेको बताए । प्राधिकरणले नक्कली बिल पठाएर महशुल मागेको उनको आरोप छ । ‘प्राधिकरणले उद्योगमा बिल पेश गरेको ७ दिनभित्र महशुल बुझाए २ प्रतिशत छूट पाइन्छ । उद्योगीले त्यसको पनि भरपूर प्रयोग गरिरहेका छन् । त्यसकारण कोही पनि उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने रकम बाँकी छैन,’ उनले अगाडि प्रश्न गरे, ‘बाँकी छ भने प्राधिकरण किन टीओडी मीटरको तथ्यांक पेश गर्न डराउँछ ?’
विद्युत् प्राधिकरणले हरेक महीना टीओडी मीटरमा उठेको बिल डाउनलोड गरेर राख्नुपर्ने र विद्युत् महशुलसम्बन्धी विवाद उत्पन्न हुँदा उक्त तथ्यांक पेश गर्नुपर्ने भए पनि प्राधिकरणसँग त्यस्तो तथ्यांक सुरक्षित नभएको बताइएको छ ।
प्राधिकरणका सूचना अधिकारी सुरेशबहादुर भट्टराईले टीओडी मीटरको तथ्यांक उपलब्ध गराउन नसकिने बताए । ‘प्राधिकरणले बिलिङ गर्दा टीओडी मीटरकै माध्यमबाट गर्ने भए पनि अहिले उक्त तथ्यांक उपलब्ध गराउन सकिँदैन । कहिले कहीँ मीटर रिडिङ गर्दा छुट्न सक्छ । त्यस्तो बेलाको तथ्यांक हामीसँग हुँदैन,’ उनले आर्थिक अभियानसँग भने, ‘त्यसैले उद्योगीले पनि आफूसँग सुरक्षित राख्नुपर्ने हो । यतिका वर्षपछि प्राधिकरणले कसरी उपलब्ध गराउने ?’
प्राधिकरणले शुक्रवार र शनिवार गरी ९ ओटा ठूला उद्योगमा विद्युत् आपूर्ति बन्द गरिदिएको छ । प्राधिकरणको यो कदमले उद्योगहरूमा करोडौंको क्षति भएको उद्यमीको गुनासो छ ।