काठमाडौं । नेपालले पाँच महीनामा ५५ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा नेपालले विभिन्न मुलुकमा ५५ करोड ३७ लाख १९ हजार रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ ।
उक्त मूल्यको एक हजार ८३ किलोग्राम यार्सागुम्बा निर्यात गरेको हो । गत वर्षको सोही अवधिमा नेपालले २७ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको ४५३ किलोग्राम यार्सागुम्बा निर्यात गरेको छ । गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सोही अवधिमा यार्सागुम्बा निर्यात मूल्यमा ९९ प्रतिशतले र परिमाणमा १३९ प्रतिशतले बढेको छ ।
यो पाँच महीनाको अवधिमा नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, कम्बोडिया, चीन, चेक रिपब्लिक, ग्रीस, हङकङ, जापान, मलेसिया, मंगोलिया, रूस, सिङ्गापुर, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, भियतनाममा यार्सागुम्बा निर्यात भएको छ ।
उक्त अवधिमा सबैभन्दा धेरै यार्सागुम्बा निर्यात हङकङमा भएको छ । हङकङमा मात्रै २४ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको ३८० किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।
यार्सागुम्बा सर्वाधिक निर्यात हुने देशको सूचीमा चीन छ । उक्त अवधिमा चीनमा २० करोड ४२ लाख ९० हजार रुपैयाँ बराबरको ४७७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस्तै, भियतनाममा ३ करोड ४६ लाख ७५ हजार रुपैयाँ बराबरको १२७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।