ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओटिसी बजार : दुई महीनामा ४० करोडभन्दा बढीको कारोबार 

२०८० पुस, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।ओभर द काउन्टर (ओसीसी) बजारमा पछिल्लो २ महीनामा ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ओटीसी बजारसमेत सञ्चालन गर्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारीअनुसार कात्तिकमा ८ करोड १० लाख ३६ हजार ५१४ रुपैयाँको र मङ्सिरमा ३२ करोड ६ लाख ६१ हजार रुपैयाँको शेयर ओटीसी बजारमा कारोबार भएको हो ।

कात्तिकमा ६ कम्पनीको ६ लाख ८५ हजार १२३ कित्ता र मङ्सिरमा पनि ६ कम्पनीको ३१ लाख ८९ हजार ६२२ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । कात्तिकमा अन्नपूर्ण केबलकार, म्याक्स भिजन, ज्योति क्यापिटल, टक्सार पिकुवाखोला हाइड्रोपावर, नेपाल जलविद्युत् प्रवर्द्धन तथा विकास र अल फुड इन्डस्ट्रिजको शेयर ओटीसी बजारमा कारोबार भएको हो ।

त्यस्तै मङ्सिरमा गरिमा क्यापिटल, चितवन फुड इन्डस्ट्रिज, हिमशिला पावर, त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड, एभरेस्ट ग्यास उद्योग र नेपाल हस्पिटालिटी एन्ड होटेलको शेयर ओटीसी बजारमा कारोबार भएको नेप्सेले जानकारी दिएको हो । कात्तिकमा नेपाल जलविद्युत् प्रवर्द्धन तथा विकासको सबैभन्दा बढी २ लाख ४१ हजार ९०७ कित्ता शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर प्रतिकित्ता १०२ रुपैयाँमा किनबेच भएको हो । मूल्यका हिसाबमा भने कात्तिकमा अन्नपूर्ण केबलकारको सबैभन्दा बढी प्रतिकित्ता १५० रुपैयाँमा २ लाख ३९ हजार ६०८ कित्ता शेयर कारोबार भएको छ । मङ्सिरको कुल कारोबारमा नेपाल हस्पिटालिटी एन्ड होटल लिमिटेडको सर्वाधिक अंश रहेको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँमा २५ लाख ४४ हजार ४२० कित्ता शेयर कारोबार भएको हो । मङ्सिरमा भएको कारोबारमा त्रिशक्ति सेक्युरिटिजको सबैभन्दा बढी प्रतिकित्ता १२० रुपैयाँमा ८४ हजार ९८८ कित्ता शेयर कारोबार भएको छ ।

पछिल्लो समय ओटीसी बजारमा कारोबार बढ्दै गएको तथ्यांकले देखाउँछ । नेप्सेका अनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० मा २ अर्ब ८५ करोड ८४ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६४ हजार ९५ कित्ता धितोपत्र कारोबार भएको थियो । चालू आवको ५ महीनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्ला ३ महीना (साउन, भदौ र असोज) मा १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको १ करोड ३६ लाख ७२ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको थियो ।

विशेष गरी धितोपत्रको दोस्रो बजारबाट सूचीकरण खारेज भएका तथा सूचीकरण प्रक्रियामा नआएका कम्पनीको धितोपत्र ओटीसी बजारमा कारोबार हुने गरेको छ । धितोपत्र दलाल व्यवसायीको सहयोगविना नै खरीदकर्ता र विक्रीकर्ता सहमत मूल्यमा ओटीसी बजारमा धितोपत्र कारोबार हुने गरेको नेप्सेको भनाइ छ । धितोपत्रको दोस्रो बजार सञ्चालन गर्दै आएको नेप्सेले छुट्टै काउन्टरमार्फत ओटीसी बजार आफ्नै कार्यालयमा सञ्चालन गर्दै आएको छ । शनिवार र सार्वजनिक बिदाबाहेकका दिन कार्यालय समयभर ओटीसी बजारमा कारोबार हुन्छ । 

नेप्सेले ओटीसी बजारको थप विकास र विस्तारका लागि यस वर्षको नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको छ । धितोपत्र बजारलाई पूर्ण प्रविधिमैत्री अवस्थामा पुर्‍याइसकेको नेप्सेले ओटीसी बजारलाई प्रविधिसँग जोड्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ । कागजी रूपमै कारोबार हुँदा समेत वार्षिक अर्बौं रुपैयाँको कारोबार हुने ओटीसी बजारलाई समेत प्रविधिमैत्री बनाउनुपर्ने माग लगानीकर्ताको छ । 

अग्रज लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले पूर्ण प्रविधिमैत्री धितोपत्र बजार भइसकेको अवस्थामा नेप्सले ओटीसी बजारलाई समेत जतिसक्दो चाँडो प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । अहिले धेरै लगानीकर्ताले धितोपत्र बजारभन्दा प्राथमिक बजार र दोस्रो बजारलाई मात्र बुझ्ने गरेकाले सरोकारवाला निकायले धितोपत्र बजारको एउटा अंश ओटीसी बजारसमेत रहेको स्पष्ट पार्ने नीति लिनुपर्नेमा समेत घिमिरेले जोड दिए । नेप्सेले यस वर्षको नीति तथा कार्यक्रममा ओटीसी बजारलाई प्रविधिमैत्री बनाउने योजना अघि सारेको समाचार पढेका घिमिरेले चाँडै नै उक्त योजना कार्यान्वयनमा आएको समाचार पढ्न पाउने अपेक्षा रहेको बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)