वीरगञ्ज। वीरगञ्ज भन्सारबाट हुने राजस्व संकलनमा आधाजसो योगदान इन्धन आयातको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मङ्सिरसम्ममा भन्सारले उठाएको कुल राजस्वमा ४६ दशमलव ९६ प्रतिशत पेट्रोलियम पदार्थको आयातबाट आएको देखिन्छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवका पछिल्ला महीनामा इन्धन आयात बढेको छ ।
गत मङ्सिरमा उठेको कुल राजस्वमा इन्धनको योगदान ५३ दशमलव ९० प्रतिशत रहेको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिएका छन् ।
वीरगञ्ज इन्धन भित्रिने मुख्य नाका हो । मोतिहारी–अमलेगखगञ्ज पाइपलाइन र स्थलमार्ग हुँदै यो नाकाबाट पेट्रोलियम पदार्थ भित्रिने गरेको छ । यो नाकाबाट चालू वर्षको शुरूका ५ महीनामा ३७ करोड ९ लाख २० हजार लिटर डिजेल, १६ करोड २० लाख ४६ हजार लिटर पेट्रोल, ६ करोड ८२ लाख २४ हजार लिटर हवाई इन्धन, ११ करोड ४७ लाख ८२ हजार १८१ किलो एलपी ग्यासलगायत पेट्रोलियम पदार्थ भित्रिएको वीरगञ्ज भन्सारले बताएको छ ।
कुल राजस्वमा सवारीसाधनको योगदान ९ प्रतिशत रहेको भन्सारले बताएको छ । बढ्दो ब्याजदर र बजार माग खुम्चिएपछि सवारीसाधनको आयात घटेको भन्सारका अधिकारीहरूले बताए । यो नाकाबाट जीप कार भ्यान, मोटसाइकल, ट्रक र बसका चेसिस, सवारीसाधनका पार्टस्, विद्युतीय सवारीसाधन आयात हुन्छन् । पछिल्लो समयमा अनएसेम्बल मोटरसाइकलको आयात बढेको भन्सारको तथ्यांकले देखाउँछ । स्वदेशमै मोटरसाइल एसेम्बल उद्योग खुलेकाले यस्तो आयात बढेको हो ।
वीरगञ्ज नाकाको कुल व्यापार र राजस्व दुवै खस्किएको छ । चालू आवको ५ महीनामा कुल आयातनिर्यात २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ बराबर छ । अघिल्लो आव २०७९/८० को सोही अवधिमा यो ३ खर्ब १० अर्ब ८ करोड रुपैयाँ बराबर थियो । वीरगञ्ज नाकाबाट भएको आयातनिर्यातमा मात्रै २ खर्ब २९ अर्व ८९ करोड रुपैयाँ व्यापारघाटा पुगेको देखिन्छ । सरकारले आयातमा सबै खालका प्रतिबन्ध हटाए पनि वैदेशिक व्यापारमा सुधार आउन नसकेको तथ्यंकहरूले देखाउँछन् । आयात घटेपछि वीरगञ्ज भन्सारले उठाउने राजस्वको लक्ष्य भेट्टाउन सकेको छैन । यो भन्सारलाई मङ्सिरसम्मका लागि ९८ अर्ब ५६ करोड रुपैयाँको लक्ष्य दिइएको थियो । उक्त अवधिमा ६२ अर्ब रुपैयाँमात्र उठाउन सकिएको सूचना अधिकारी ढकालले बताए । यो लक्ष्यको तुलनामा ६२ दशमलव ९१ प्रतिशत हो । गत आवको सोही अवधिमा ६३ अर्ब ४५ करोड रुपैयाँ राजस्व उठेको थियो ।