ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र बोर्डका अध्यक्ष हमाल बिदामा 

२०८० पुस, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल १ साता लामो अनिवार्य बिदामा बसेका छन् । हमालको कार्यकाल पुस २० गते सकिँदै छ । उनी पुस ११ देखि १ साता अनिवार्य बिदामा बसेका हुन् । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले पुस १८ गते हाजीर हुने गरी अध्यक्ष हमाल अनिवार्य बिदामा बसेको जानकारी दिए । 

अध्यक्ष बिदामा बसेपछि बोर्डको प्रशासनिक कामलाई निरन्तरता दिने जिम्मेवारी कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिइएको देवकोटाले बताए । आचार्यले निमित्त अध्यक्षको नभई प्रशासनिक कामको जिम्मेवारी पाएका हुन् । देवकोटाका अनुसार नेपाल धितोपत्र बोर्डमा निमित्त कार्यकारी पदको जिम्मेवारी दिने व्यवस्था छैन । हमाल २१ महीने कार्यकालको अन्तिम दिनसम्म काम गरेर बिदा हुने भएका छन् । उनी बिदापछिको समय बोर्डको जिम्मेवारी पूरा गरेर बाहिरिनेछन् । 

बोर्डमा अध्यक्षको कार्यकाल ४ वर्ष हुन्छ । हमाल तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको बर्खास्तीपछि बाँकी कार्यकालका लागि नियुक्त भएकाले उनको कार्यकाल २१ महीना भएको हो । २०७८ फागुन ५ गतेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्डमा अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । बोर्डको अध्यक्ष छनोट गर्न गठित समितिले हमाल, डा. गोपाल भट्ट र कृष्णराज पोखरेलको नाम सिफारिश गरेको थियो । 

  • एक साताको अनिवार्य बिदा सकेपछि कार्यकालको अन्तिम दिनसम्म बोर्डको काम गर्ने
  •  सरकारले आगामी कार्यकालमा पनि आवश्यक ठाने काम गर्ने मनसाय

 तीन जनामध्येबाट अध्यक्षमा हमाल नियुक्त भएका थिए । अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका थिए । केही मानिसहरू हमालले आगामी कार्यकाल पनि अध्यक्षको जिम्मेवारी पाए बजारका लागि निकै महत्त्वपूर्ण नीति निर्माण हुने बताउँछन् । हमाल भने पछिल्लो समय अनावश्यक आलोचना भएपछि कार्यकाल दोहोर्‍याउने मनसायमा नरहेको बताउँछन् । तर, सरकारले पूँजीबजारको विकास र विस्तारका लागि आफ्नो कार्यकालमा भएका गतिविधिलाई ध्यानमा राखी आगामी कार्यकालमा पनि आफ्नो आवश्यकता ठाने विचार गर्ने उनको भनाइ छ । छोटो कार्यकालमा पनि निकै महत्त्वपूर्ण काम गरेको हमालको दाबी छ । बोर्डको इतिहासमै पहिलोपटक आफ्नो कार्यकालमा समयमै वित्तीय विवरण नबुझाएका ८८ कम्पनीलाई एकैपटक कारबाही गरेको उनले सुनाए । वित्तीय विवरण बुझाउन १ दिन ढिला गर्ने कम्पनीलाई समेत कारबाही गरेकाले आगामी दिनमा कुनै पनि कम्पनीले वित्तीय विवरण बुझाउन ढिला नगर्ने उनको विश्वास छ । नयाँ ब्रोकर कम्पनी र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया उनले नै अघि बढाए । हालसम्म ३७ नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको बोर्डले बाँकी ६ ओटालाई पनि दिने तयारी गरेको छ । 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियाको हकमा बोर्ड मन्त्रिपरिषद् निर्णयको पर्खाइमा छ । नयाँ ब्रोकर र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि बोर्डले २०७९ असोज २ गते प्रक्रिया अघि बढाएको थियो । अनेक मुद्दा मामिला पार गर्दै हमालले नयाँ लाइसेन्स वितरण प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएका छन् । आफ्नो कार्यकालमै नयाँ लाइसेन्स वितरण प्रक्रियालाई अन्तिम टुंगोमा पुर्‍याउने हमालको प्रयास भने सफल नहुने लगभग निश्चित छ । सर्वोच्च अदालतबाट सफाइ पाइसकेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन बोर्डले मन्त्रिपरिषद्बाट स्पष्ट जवाफ माग्दै पत्र पठाएको छ । मन्त्रिपरिषद्को गत वैशाख २६ गतेको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको थियो । तर, कात्तिक २४ गते सम्पन्न प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया स्थगित गर्न दिएको निर्देशनको प्रयोजन समाप्त भइसकेको निष्कर्ष निकालेको छ । अर्थ समितिले पनि गत जेठ २९ गते नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया स्थगित गर्न अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो । उक्त निर्देशनपछि सम्बद्ध निकायबाट कागजात माग गरी अध्ययन गर्दा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषय सर्वोच्च अदालतमा समेत प्रवेश भई अन्तिम फैसला भइसकेकाले उक्त निर्देशनको प्रयोजन समाप्त भएको निष्कर्ष अर्थ समितिले निकालेको हो । 

मन्त्रिपरिषद्बाट कुनै निर्णय नभएको अवस्थामा अर्थ समितिको निर्देशन कार्यान्वयन गरेर अघि बढ्न मिल्ने/नमिल्ने विषयमा मन्त्रिपरिषद्को स्पष्ट जवाफ बोर्डले अर्थ मन्त्रालयमार्फत मागेको हो । नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेड गरी तीन कम्पनीको आवेदन परेको छ । यीमध्ये योग्य एक कम्पनीले लाइसेन्स पाउनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)