विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सकेमात्र देशको विकास हुने टिप्पणी गरेका छन् । बुधवार श्रम बजार सूचना प्रणाली ‘श्रम संसार’ शुरू गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रम ठूलो सानो नहुने बताए ।
उनले भने, ‘हाकीमदेखि स्विपरसम्म सबैले आआफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छ । आफ्नो काम जानेको हुन्छ, श्रममा को ठूलो को सानो हुन्छ र ? त्यसकारण श्रमको सम्मान गर्न जरुरी छ ।’
मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्न श्रम संसार महत्त्वपूर्ण सावित हुने बताए । ‘अब यस क्षेत्रमा काम गर्ने मान्छे रोजेर पाइने भएको छ,’ उनले भने, ‘यसले हाम्रो श्रम बजारलाई समेत व्यवस्थित गर्छ ।’ मुख्यमन्त्री कार्कीले मानिसको आवश्यकताअनुसार श्रममा लाग्न सक्ने उल्लेख गर्दै श्रम बजार जति फैलियो त्यत्ति विकासले गति लिने बताए ।
श्रम संसार कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वीस कन्ट्याक्ट र आसमान नेपालसँगको सहकार्यमा सञ्चालन गरेको ‘स्टेप अप’ परियोजना हो । यस परियोजनामा शुरूमा कोशी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाले साझेदारी गरेका छन् । क्रमश: सबै पालिका समेट्ने लक्ष्य रहेको स्वीस कन्ट्याक्टका प्रोजेक्ट अफिसर सागर चापागाईंले जानकारी दिए । उनले भने, ‘यो काम खोज्न र रोज्ने नि:शुल्क माध्यम हो । अर्कोतर्फ यो प्रणाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको जीआईडीसीसँग जोडिएकाले हाम्रा डाटाहरू सुरक्षित छन् ।’
एप्सबाट बेरोजगार युवालाई रोजगारीमा समेट्नुका साथै स्थानीय स्तरमा हुने तालीमबारे पनि जानकारी प्राप्त गर्न सकिने विश्वास लिइएको छ । उक्त प्रणालीमा हालसम्म ३४ सयभन्दा बढी संस्था र व्यक्ति दर्ता भएका छन्, जसमा ३ सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएकोमा ३१ जनाले काम पाइसकेको उद्घाटन समारोहमा चापागाईंले बताए ।
उक्त अवसरमा कोशी प्रदेश सरकार, स्वीस कन्ट्याक्ट र आसमान नेपालबीच कार्यगत एकता तथा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ । सामाजिक विकास मन्त्रालयका सचिव वासुदेव दाहालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।