ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई महीनापछि आईपीओ स्वीकृति प्रक्रिया अघि बढ्यो 

२०८० पुस, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ महीनापछि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति प्रक्रियालाई अघि बढाएको छ । प्राथमिक बजारमा निरन्तर धितोपत्रको सार्वजनिक निष्कासनले दोस्रो बजारमा असर परेको गुनासो आएसँगै गत कात्तिक १ गतेपछि बोर्डले स्वीकृति प्रक्रिया रोकेको थियो । स्वीकृति प्रक्रियामा बोर्डका अध्यक्ष रमेशकुमार हमाल र व्यवस्थापनको लापरबाही भएको गुनासो आउन थालेपछि अध्यक्ष हमालले नै व्यक्तिगत आक्षेप लाग्ने काम नगर्ने भन्दै सञ्चालक समितिबाट निर्णय गराएर मात्र अनुमति दिने प्रस्ताव पेश गरेका थिए । 

बोर्ड सञ्चालक समिति बैठकले बोर्डको अध्यक्षलाई नै अधिकार दिने र व्यवस्थापनको सिफारिशमा स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको एक सञ्चालकले जानकारी दिएका छन् । बोर्डमा सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रियाका लागि विभाग गठन गरेर स्वच्छ र पारदर्शी रुपमा काम भइरहेको नियमन विभागले दाबी गरेको छ । 

सञ्चालक समितिले बाटो खुला गरेपछि यतिबेला बोर्डले प्रक्रिया पूरा गरेका कम्पनीलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिने प्रक्रिया अघि बढाएको छ । बोर्डले स्वीकृति प्रक्रिया रोकेको ठीक २ महीनामा पुस १ गते कुमारी क्यापिटल लिमिटेडलाई १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाइ विक्री गर्न अनुमति दिएको छ । बन्दमुखी प्रकृतिको कुमारी सबल योजना सञ्चालनका लागि बोर्डले क्यापिटललाई अनुमति दिएको हो । 

त्यसपछि पुस २ गते बोर्डले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । बैंकले १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर रहेको एनआइएमबी डिबेन्चर २०९० निष्कासनका लागि अनुमति दिएको हो । त्यस्तै पुस ३ गते सर्वोत्तम सिमेन्टलाई दोस्रो चरणमा सर्वसाधारणका लागि ३६ लाख कित्ता शेयर बुक बिल्डिङ विधिबाट निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाको दरले शेयर बेच्न सर्वोत्तमलाई बोर्डले अनुमति दिएको हो । बोर्डले सार्वजनिक निष्कासनमा विविधता कायम गरेको देखिन्छ । बोर्डले पुस ११ गते सिंगटी हाइड्रोपावरलाई शतप्रतिशत दरको १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन अनुमति दिएको छ ।

बोर्डले यसअघि कात्तिक १ गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति दिएको थियो । चालू वर्ष शुरू भएयता बोर्डले सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट र हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न अनुमति दिएको हो । चालू आर्थिक वर्षको हालसम्म ६ कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति पाएकोमा प्रिमियम मूल्यमा शेयर विक्री गर्ने कम्पनीको संख्या तीन छ । लामो समयदेखि घटिरहेको शेयरबजारमा प्रिमियम मूल्यमा जारी भएको सोनापुर मिनरल्सको शेयर कारोबारमा आएको दिनदेखि नकारात्मक सर्किटसहित खरीद मूल्यभन्दा तल झरेको थियो । 

पछिल्लो समय प्रिमियम मूल्यमा जारी भएको शेयरको चर्चा संसद्को सार्वजनिक लेखा समितिमा समेत भएको छ । बिहीवार बीमा कम्पनीहरूलाई कानूनविपरीत प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न दिएको उजुरी परेपछि लेखा समितिले सम्बद्ध निकायहरूसँग छलफल गरेको छ । समितिले प्रिमियम मूल्यमा शेयर जारी गर्न दिएको असर दोस्रो बजारमा परेको भन्दै अन्तरराष्ट्रिय अभ्यासको रूपमा रहेको बुक बिल्डिङ विधि अवलम्बन गर्न निर्देशन दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)