काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा जुम्ला स्थायी घर भइ भक्तपुर बस्दै आएका २३ वर्षीय सुजन राउत र अर्का वीरेन्द्र शाहको मृत्यु भएको छ। अचेत अवस्थामा किस्ट अस्पताल लगिएका राउतलाई अस्पतालले मृत घोषणा गरेको हो ।
ललितपुरमा कोरिया जानका लागि इपीएस परीक्षा दिन नपाएका परीक्षार्थीको प्रदर्शन चलिरहेको थियो । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गर्दा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी जलेको थियो । मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।इपीएस आवेदन फारम भर्न नपाएको भन्दै युवाले उक्त गाडीमा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएपछि उक्त परीक्षा दिएका तर अनुत्तिर्ण भएकाले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो ।
तर ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्ने १८ जनालाई मात्रै आवेदन दिन आह्वान गरेपछि अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शनमा उत्रिएका थिए । शान्तिपुर्ण प्रदर्शन चलिरेका बेला मन्त्री प्रकाश ज्वाला सोही रूटबाट आएपछि भिडले मन्त्रीको गाडीलाई निशाना बनाउँदा मुठभेडको अवस्था आएको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले शुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गर्दा प्रदर्शनकारीलाई लागेको जनाइएको छ ।