काठमाडौं। काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक) आयोजनाको रेखांकनमा पर्ने थप रूखहरू कटानका लागि सरकारले स्वीकृति दिएको छ । पुस १२ गतेको मन्त्रिपरिषद्को बैठकले मकवानपुर र बारा जिल्लाको राष्ट्रिय वनका ४ हजार ३४५ ओटा रूख कटानका लागि स्वीकृति दिएको हो ।
आयोजनालाई उक्त वनको ४० दशमलव १९ हेक्टर जग्गा प्रयोग गर्न पनि स्वीकृत दिइएको छ । केही समयअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले डाकेको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले रूख कटान अनुमतिका लागि ९ महीना कुर्नुपरेको बताएका थिए । सरकारले दु्रतमार्ग निर्माण समयमै सम्पन्न गर्न भने पनि सोहीअनुसारका कानूनी व्यवस्था, रूख कटानमा सहजीकरण जस्ता काम नगरिदिएको बताएका थिए ।
आयोजनामा २०६६ सालदेखि नेपाली सेनाले २९ ओटा वन उपभोक्ता समूहको नाममा रहेका वनका रूख कटान शुरू गरेको थियो । २०६६ मा ६ हजार ६७१ रूख कटान गरेको सेनाले २०७९ पुससम्म २७ हजार ६२२ रुख कटान गरेको छ । आयोजनाको सडक मार्गाधिकारभित्र काठमाडौंमा एक, ललितपुरमा एक, मकवानपुरमा २२ र बारामा पाँचओटा सामुदायिक वन तथा राष्ट्रिय वन पर्छन् ।