चितवन। रत्ननगर नगरपालिका वडा नं ९ स्थित सिसैमा २० करोड लगानीमा सिसै पार्क भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । दुई पर्यटन व्यवसायी हरिकृष्ण उपाध्याय र विष्णुहरि सुवेदीले सञ्चालनमा ल्याएका हुन् । पर्यटकलाई टिपिकल, स्थानीय परिकार पस्कने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक हरिकृष्ण उपाध्यायले जानकारी दिए । साढे १२ कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्ट अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सञ्चालनमा ल्याइएको हो ।
सञ्चालक उपाध्यायका अनुसार रिसोर्टमा दुई सुविधासम्पन्न भवनमा १२ ओटा डिलक्स रुम, दुईओटा सेल्फ किचेन अपार्टमेन्ट, स्वीट रुम, कमन रुम, दुईओटा सभा हल, रेस्टुरेन्ट एन्ड बार, स्वीमिङ पुल लगायत संरचना छन् । रिसोर्टमा एकैपटक करीब सय जना पर्यटकलाई सेवा दिने क्षमता छ । रिसोर्टबाट सिसै पिकनिक स्पट, टिकौली जंगल, वन्यजन्तु लगायत दृश्य अवलोकन गर्न सकिने अर्का सञ्चालक सुवेदीले बताए । निकट भविष्यमा थप ३० करोड लगानी गरी रिसोर्टलाई विस्तार गरिने जानकारी उनले दिए ।
रिसोर्ट सञ्चालनमा आएसँगै स्थानीय हाँस, कुखुरा, तरकारी लगायत उत्पादनको खपत बढेको सुवेदीले बताए । रिसोर्टमा हाल प्रत्यक्ष रूपमा १५ जनाले रोजगारी पाएका छन् । रिसोर्टले नयाँ अंग्रेजी वर्षको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम गर्न लागेको छ ।