काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ नभएको समयमा उपभोग गरेको बिजुलीबापत उद्योगहरूबाट अतिरिक्त महशुल लिन नपाउने भएको छ । विद्युत् नियमन आयोगको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्राधिकरणले २०७५ वैशाख ३१ मा लोडशेडिङ अन्त्य भएको घोषणा गरेको थियो ।
प्राधिकरणले भने उद्योगीहरूसँग लोडशेडिङ अन्त्य भइसकेपछि उपभोग गरेको बिजुलीको समेत अतिरिक्त महशुल दाबी गरेको छ । आयोगको बैठकले २०७५ पछि मुलुकमा लोडशेडिङ भएको रहेछ भने मात्रै प्राधिकरणले अतिरिक्त महशुल लिन पाउने, अन्यथा नपाउने निर्णय गरेको आयोग सचिव गोकर्णराज पन्थले जानकारी दिए ।
उनका अनुसार आयोगले २०७७ असार १ मा डेडिकेटेड फिडर र ट्रंक लाइनको अतिरिक्त महशुल खारेज गरेको थियो ।
त्यस बेलासम्म डेडिकेटेड र ट्रंक लाइनको महशुल कायमै रहेकाले कुनै पनि प्रकारको लोडशेडिङ भएको अवस्थामा कसैले २० घण्टाभन्दा बढी विद्युत् डेडिकेटेड फिडर र ट्रंक लाइनबाट निरन्तर प्रयोग गरेको रहेछ भने नेपाल विद्युत् प्राधिकरणले अतिरिक्त मूल्य लिन मिल्छ ।
यसबीचमा सबै ग्राहकले नियमित बिजुली पाएका रहेछन् भने प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउन नपाउने उनले बताए । ‘महशुल उठाउनलाई लोडशेडिङ भएको हुनुपर्यो । प्राधिकरणले उक्त समयमा लोडशेडिङ भएको थियो भन्ने प्रमाण पेश गर्न सक्छ भने उसले महशुल उठाउन सक्छ । अहिलेको मुख्य विवाद प्राधिकरणले आफैले लोडशेडिङ अन्त्यको सूचना प्रकाशन गरेपछिको समयको पनि बिलिङ गरेको विषयमा हो,’ उनले भने ।