ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘अर्थतन्त्र झन् बिग्रियो’

२०८० पुस, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

नेपाल उद्योग परिसंघका अध्यक्ष भन्छन्– सरकारले सेलेक्टिभ तथ्यांक देखाएर राम्रो भनिरहेको छ तर हाम्रो अध्ययनसँग सरकारी तथ्यांक मेल खाँदैन । अर्थतन्त्रमा सुधार आएको देखिँदैन । समग्र बजार माग खस्किएको छ । कच्चा पदार्थको मूल्य बढिरहेको र आयात घटेको छ ।

काठमाडौं । सरकारले अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गरिरहँदा निजीक्षेत्रले गरेको एक सर्वेक्षणले माग निरन्तर घटेको, व्यवसायको कारोबार घटेको र नयाँ लगानी थप्न लगानीकर्ता इच्छुक नभएको देखाएको छ । 

नेपाल उद्योग परिसंघले सोमवार सार्वजनिक गरेको अर्थतन्त्रको वास्तविक अवस्थासम्बन्धी सर्वेक्षणअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उद्योगको समग्र कारोबार, कच्चा पदार्थ आयात र उत्पादित वस्तुको माग घटेको छ । नयाँ लगानी पनि घटेको छ । 

सर्वेक्षणमा आव २०७८/७९, २०७९/८० र २०८०/८१ को पहिलो त्रैमासिक अवधिको तुलना गरिएको छ । सर्वेक्षणले मुलुकमा अहिले पनि लगानीकर्ताको मनोबल नबढेको देखाएको छ । उता अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आव २०८०/८१ मा आर्थिक वृद्धिदर साढे ६ प्रतिशत हुने र नभए ५ प्रतिशतसम्म पुग्ने दाबी गरिरहेका छन् ।

सयओटा उद्योगमा नमूना प्रश्नावलीबाट सर्वेक्षण गरेको परिसंघले औद्योगिक उत्पादनको समग्र बजारमा निरन्तर कमी आइरहेको उल्लेख गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र अहिले पनि मन्दीमै रहेको दाबी गरे । अर्थतन्त्रमा गतिरोध कायमै रहेको भन्दै उनले भने, ‘सरकारले सेलेक्टिभ तथ्यांक बाहिर ल्याएर अर्थतन्त्र राम्रो भनिरहेको छ । तर, हाम्रो अध्ययनसँग सरकारी तथ्यांक मेल खाँदैन । अर्थतन्त्रमा सुधार आएको देखिँदैन । समग्र बजार माग खस्किएको देखिएको छ भने कच्चा पदार्थको मूल्य बढिरहेको र आयात घटेको पाइएको छ ।’

सर्वेक्षणअनुसार चालू आवको पहिलो त्रैमासमा समग्र माग आव २०७८/७९ को तुलनामा ३६ दशमलव ९३ प्रतिशतले घटेको छ । 

अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा माग २८ दशमलव २८ प्रतिशतले घटेको छ । उद्योगहरूको कारोबार रकममा पनि कमी आएको छ । गतवर्ष पहिलो त्रैमासमा २४ दशमलव ९४ प्रतिशतले घटेको कारोबार रकम चालू आवको उक्त अवधिमा ७ दशमलव ४६ प्रतिशतले घटेको छ ।

सरकार यतिबेला तेस्रो लगानी सम्मेलनको तयारीमा छ । सरकारले २०८१ वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । मुलुकमा विदेशी लगानी आकर्षित गर्न सरकारले लगानी सम्मेलनको तयारी गर्दा घरेलु उद्योग व्यवसायमा भने गतिरोध कायमै रहेको निजीक्षेत्रको तथ्यांकले देखाएको हो ।

‘गतवर्ष नै उद्योगी/व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो,’ सर्वेक्षणमा भनिएको छ, ‘जुन चालू वर्षसमेत यथावत् रहेको छ ।’ सर्वेक्षणअनुसार अघिल्लो आवमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी/व्यवसायीले आफ्नो लगानीका योजना स्थगन गरेका थिए । यो अवस्थामा झीनो सुधार देखिएको छ । चालू आवको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीले आफ्ना लगानीका योजना स्थगन गरेको सर्वेक्षणले देखाएको छ । 

यसबाट सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको अध्यक्ष अग्रवालले बताए । अग्रवालले मुख्य गरी सरकारको नीतिकै कारण अर्थतन्त्रमा सुधार नदेखिएको बताए । ‘ब्याज घट्ने, तरलता उपलब्ध हुने कुरा अहिले आएका हुन् । एउटा कारणले मात्रै अर्थतन्त्रमा असर गरेको होइन,’ अग्रवालले भने, ‘उत्पादन गरे पनि बजारमा माग छैन र बजारमा आपूर्ति भएको वस्तुको रकम उठाउन गाह्रो छ । यो अवस्थामा उद्योगीले लगानी थप्न आँट गरेका छैनन् । तरलता भए पनि बैंकहरूले कर्जा दिने आँट गरेका छैनन् । कालोसूचीमा पर्ने व्यवसायीको संख्या पनि बढ्दै गएको जस्ता कारणले अर्थतन्त्रमा असाधारण गतिरोध (डेडलक) भएको देखिन्छ ।’ 

पछिल्लो समय सहकारीको समस्या, निर्माण व्यवसायीको भुक्तानी रोक्का र सरकारले पूँजीगत खर्च गर्न नसक्दा थप समस्या भएको उनले बताए । उनका अनुसार सहकारीमा रकम फस्नु पनि एउटा कारण हो । ‘जनताले पैसा निकाल्न सकेका छैनन्, जसले गर्दा बजारमा माग छैन । तल्लो तहमा माग सृजना हुनुपर्ने हो, त्यो छैन । यस्तो गर्दा पनि नहुने र अर्काे विकल्प खोज्दा पनि नहुने अवस्था छ,’ अग्रवालले भने, ‘बजारमा पैसा फालाफाल छ, सरकारका अनुसार सुधार पनि देखिएको भनिन्छ, तर अर्थतन्त्र चलायमान देखिँदैन ।’ 

उनका अनुसार मुख्य समस्या सरकारको पूँजीगत खर्च कम हुनु हो । सरकारले ऋण उठाएर भए पनि पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिइएको छ । यस्तै परिसंघले क्षेत्रगत रूपमा सिमेन्ट, जुत्ता उद्योग, निर्माण, अटोमोबाइल्सलगायत अन्य क्षेत्रको अध्ययन पनि गरेको थियो, जसअनुसार सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा उल्लेख गरेअनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७ दशमलव ३६ प्रतिशतले संकुचन आएको छ । यस्ता उद्योगको कारोबार रकममा पनि संकुचन आएको छ । चालू आवको पहिलो त्रैमासमा ६२ दशमलव ५० प्रतिशतले लगानी योजना स्थगन गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

निर्माण व्यवसाय क्षेत्रको समग्र माग पनि घटेको छ । अघिल्लो वर्षको तुलनामा माग थप १६ दशमलव २० प्रतिशतले घटेको छ । यस्तै यो क्षेत्रका उद्योगहरूमा ३३ दशमलव ३३ प्रतिशत व्यवसायीले लगानी स्थगित गरेको जानकारी दिएका छन् । 

यस्तै फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) क्षेत्रको मागमा पनि कमी आएको छ । यसमा चालू आवको पहिलो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ७० प्रतिशतले गिरावट आएको देखिएको छ । आव २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा १५ दशमलव ४५ प्रतिशतले संकुचन आएको देखिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)