ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेको आईटी सुशासन ढाँचामा कमजोरी

२०८० पुस, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेप्सेले हाल सञ्चालन गरिरहेको अनलाइन प्रणाली जोखिममा रहेको देखिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गरेको निरीक्षणले त्यस्तो देखाएको हो । १८ लाखभन्दा बढी लगानीकर्ता सहभागी नेप्सेको अनलाइन प्रणालीको प्रभावकारिताबारे बोर्डले स्थलगत निरीक्षण गरेको छ । बोर्डका सूचनाप्रविधिविज्ञ सरोज लामिछानेको संयोजकत्वमा गठित अध्ययन समितिले नेप्सेको सूचना प्रविधिको स्थलगत निरीक्षणपछि प्रतिवेदन तयार गरी बोर्ड सञ्चालक समितिलाई बुझाएको छ । 

धितोपत्रको दोस्रो बजारमा हुने कारोबार प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न, बजार सञ्चालकको क्षमता मूल्यांकन गर्न, प्रयोगमा रहेका प्राविधिक पूर्वाधार, प्रणाली तथा मानव संसाधनलगायत विषयमा स्थलगत सुपरिवेक्षणका लागि अध्ययन समितिलाई असोज ७ गते पत्र दिइएको थियो । अध्ययन समितिले सोही पत्रको निर्देशनबमोजिम नेप्सेको सूचनाप्रविधिसँग सम्बद्ध विषयमा स्थलगत निरीक्षण सम्पन्न गरी प्रतिवेदन तयार गरेको हो । निरीक्षणका क्रममा सूचनाप्रविधि नीति, विभिन्न सरोकारवालासँग गरिएको करार, सेवाप्रदायकसँग गरिएको सम्झौता तथा प्रणाली सञ्चालनका लागि अवलम्बन गरिएको मानक, कन्फिगरेशन, सञ्चालन मार्गदर्शन आदिको अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

 अध्ययन समितिले सुपरिवेक्षणका क्रममा सूचनाप्रविधि पूर्वाधारहरू तथा प्रणालीमा अनधिकृत गतिविधि रोक्न तथा सूचनाप्रविधि पूर्वाधारको सम्पूर्णताको सुनिश्चिततासम्बन्धी अध्ययनमा जोड दिएको बताएको छ ।

सुपरिवेक्षणपछि गरिएको मूल्यांकनका आधारमा नेप्सेको आईटी सुशासन ढाँचामा कमजोरी पाइएको अध्ययन समितिको निष्कर्ष छ, जसले गर्दा यसको सञ्चालनको दिगोपना र विश्वसनीयतामा कमी आउने सम्भावना पनि अध्ययन समितिले औंल्याएको छ । नेप्सेभित्र सूचना प्रविधिसम्बन्धी निर्णय प्रक्रियाको निरीक्षण र मार्गदर्शनका लागि आवश्यक सुशासन समिति, रणनीति समितिलगायत आवश्यक सुशासन संरचनाको अभाव अध्ययन समितिले पहिचान गरेको छ । महत्त्वपूर्ण सूचना प्रविधिसम्बन्धी सेवाहरू व्यवस्थापन गर्न तेस्रो पक्ष सेवाप्रदायकहरूमा नेप्सेको अधिक निर्भरताले संस्थाको परिचालन स्थिरता र कारोबार सुरक्षामा देखिएको जोखिमलाई समेत अध्ययन समितिले प्रतिवेदनमा समेटेको छ ।

  • नट्स विक्री र मर्मतसम्भार गर्ने कम्पनी वाइकोका कर्मचारीले नेप्सेको प्रणालीमा परिवर्तन गरे पनि नेप्सेलाई थाहा नहुने अवस्था 
  •  वाइकोले नेप्सेलाई जानकारीविनै कुनै पनि समय नेप्सेको नेटवर्कमा प्रवेश गर्न सक्ने
  •  हाल सञ्चालनमा रहेको नेप्सेको अनलाइन प्रणाली जोखिममा

यसबाहेक सूचनाप्रविधि पूर्वाधार सञ्चालन गर्न आवश्यक पर्ने महत्त्वपूर्ण सफ्टवेयर र यसका म्यानुअलहरूको अपर्याप्तता एक प्रमुख मुद्दा रहेको अध्ययन समितिले ठहर गरेको छ । यसले प्राविधिक चुनौतीलाई तुरुन्तै समाधान गर्न र अवरोधहरू आएमा प्रविधि सञ्चालनको निरन्तरता सुनिश्चित गर्न नेप्सेको क्षमतालाई बाधा पुर्‍याउने अध्ययन समितिको बुझाइ छ । यी अत्यावश्यक सरोकारका विषयलाई सम्बोधन गर्न नेप्सेले तुरुन्तै एक बलियो सूचनाप्रविधि सुशासनको ढाँचा स्थापना गर्नुपर्ने निष्कर्ष प्रतिवेदनमा निकालिएको छ । उक्त बलियो सूचनाप्रविधि सुशासनको ढाँचामा राजनीतिक निर्देशन र निरीक्षण प्रदान गर्न एक स्टेरिङ समिति स्थापना गर्नसमेत अध्ययन समितिले आवश्यक देखेको छ । साथै नेप्सेले आवश्यकताअनुरूप आन्तरिक मानव संसाधन योजनाको विकासलाई समेत प्राथमिकता दिनुपर्नेमा अध्ययन समितिले जोड दिएको छ ।

अध्ययन समितिले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम २१‘ख’ को उपनियम(४) विपरीत कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र धितोपत्र बजारको विद्युतीय कारोबार प्रणाली (नट्स) को सञ्चालन तथा मर्मतसम्भार कार्य एउटै सेवाप्रदायक कम्पनीबाट भइरहेको बताएको छ । यसबाट प्रचलित नियमको परिपालना नभएको र स्वार्थको द्वन्द्व उत्पन्न भई कारोबारको विश्वसनीयतामा शंका उत्पन्न भएको निष्कर्षसमेत समितिले निकालेको छ । नट्स प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार (पावर ब्याकअप, डाटा सेन्टर) तथा डाटा रिकभरी साइटको पर्याप्त व्यवस्था नहुँदा समयसमयमा कारोबार प्रणाली अवरुद्ध भई लगानीकर्ता वञ्चित भएको अवस्थालाई प्रतिवेदनमा समेटिएको छ । 

नेप्सेलाई नट्स विक्री गरी त्यसको मर्मतसम्भार गर्ने जिम्मेवारीसमेत पाएको कम्पनी वाइकोले नेप्सेले सञ्चालनमा ल्याएको डाटा सेन्टरका फायरवाल, डाटाबेस र एक्टिभ डाइरेक्टोरी जस्ता महत्त्वपूर्ण प्रणालीहरूमा सहज पहुँच पाएको देखिएको समितिको भनाइ छ । त्यस सम्बन्धमा नेप्सेले कुनै पनि प्रकारको लग व्यवस्थापन नगरेकाले वाइकोका कर्मचारीले नेप्सेको प्रणालीमा परिवर्तन गरिदिए उक्त कुरा नेप्सेलाई थाहा हुने अवस्था नरहेको निष्कर्षसमेत अध्ययन समितिको छ । अध्ययन समितिले सुपरिवेक्षणका क्रममा देखिएका विभिन्न तथ्यलाई आधार मान्दा नेप्सेको हाल सञ्चालनमा रहेको प्रणाली जोखिममा रहेको बताएको छ । भीपीएनबाट नेप्सेको नट्समा पहुँच राख्ने वाइकोले नेप्सेलाई जानकारीविनै कुनै पनि समय नेप्सेको नेटवर्कमा प्रवेश गर्न सक्ने देखिएकाले नेप्सेले उचित स्वीकृति दिएपछि मात्र वाइकोको पहुँच हुनुपर्ने र स्वीकृति पाएको काम सकिएपछि तत्काल उक्त पहुँच बन्द गर्नुपर्ने अध्ययन समितिको सुझाव छ ।

धितोपत्रको दोस्रो बजार यतिबेला पूर्ण प्रविधिमैत्री छ । २०७५ सालमा अनलाइन प्रणाली लागू भएसँगै नेपाली धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री बनेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)