काठमाडौं । दुग्ध विकास संस्थानअन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजना भद्रगोल अवस्थामा सञ्चालन भएको देखिएको छ । मंगलवार कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल नेतृत्वको टोलीले आयोजनाको आयोजनाको छड्के अनुगमन गर्दा यस्तो अवस्था देखिएको हो । लामो समयदेखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले काठमाडौं दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मंगलवार आयोजनाका २ सय ५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको छ । अनुपस्थित हुने कर्मचारीको संख्या कुल कर्मचारीको करीब एक तिहाइ हो । यस्तै आयोजनाका कर्मचारीले बिदामा बसेर पनि हाजिरी गर्ने गरेको पाइएको छ । आयोजनाका जुनियर टेक्निसियन असिस्टेन्ट विजय कुमार यादव बिहीवारसम्म बिदामा बसेर हाजिरी गरेको पाइएको छ । यसैगरी आयोजनाले किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको र सरसफाइको अवस्था पनि दयनीय रहेको पाइएको छ ।
केही महीनाअगाडि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिए पनि अझै नष्ट नगरेको पाइएको छ ।
आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले आयोजना प्रमुख गणेश कुमार यादवलाई तत्काल सुधारका काम गर्न निर्देशन दिएका छन् ।
आयोजनामा देखिएका बेथितिलाई अनुगमन टोलीले टिपोट गरी ल्याएको छ । यसबारे अध्ययनपश्चात आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ ।
दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ । संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन् । पटक पटक संस्थान सुधारका लागि मन्त्री भुसालले मौखिक र लिखित निर्देशन दिँदै आए पनि महाप्रबन्धक सञ्जिव झाले अटेरी गर्दै आएका छन् ।
केही दिनअगाडि किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई मन्त्री भुसालले कटौती गराए पनि त्यसको कार्यान्वयन नभएको पाइएको छ ।
अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहेको र संस्थानको सुधारका लागि आवश्यक निर्णय गर्ने मन्त्री भुसालले जनाएका छन् ।