ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनसंख्याको वितरण : गाउँ रित्तिँदै, शहर भरिँदै 

२०८० पुस, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । पछिल्लो समय नेपालका गाउँ रित्तिँदै गएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गणनाअनुसार नेपालका गाउँहरूमा जनसंख्या निरन्तर ओरालो लाग्दै गएको छ ।

कार्यालयले सार्वजनिक गरेको ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनअनुसार नेपालमा ग्रामीण जनसंख्या ३३ दशमलव १९ प्रतिशतमा ओर्लिएको छ । २०६८ को जनगणनाले ३८ दशमलव ५ प्रतिशत जनसंख्या गाउँमा बस्ने देखाएको थियो । एक दशकको अवधिमा गाउँको जनसंख्या ५ प्रतिशत बिन्दुले घटेको हो ।

यस अवधिमा गाउँमा घटेको जनसंख्या शहरमा बढेको छ । २०६८ सालमा २२ दशमलव १ प्रतिशत रहेको शहरी जनसंख्या २०७८ मा आइपुग्दा २७ दशमलव शून्य ७ प्रतिशत पुगेको प्रतिवेदनले उल्लेख गरेको छ ।

नेपालमा लामो समयदेखि शहरी जनसंख्याको सही आँकडाको विषयमा अन्योल थियो । राष्ट्रिय जनगणना २०७८ ले नेपालमा नगरपालिकाको जनसंख्या ६६ दशमलव १७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३ दशमलव ८३ प्रतिशत रहेको देखाएको थियो । तर, सबै नगरपालिकाको जनसंख्यालाई शहरी क्षेत्रका रूपमा परिभाषित गर्न मिल्दैनथ्यो ।

महानगर, उपमहानगर तथा नगरपालिकाभित्र पनि ग्रामीण चरित्रका बस्ती प्रशस्त मात्रामा रहेका तथा गाउँपालिकाका बजार तथा केन्द्रहरू ससाना शहरका रूपमा विस्तार हुँदै गएको परिप्रेक्ष्यमा शहरीकरणका आयामलाई फरक ढंगले केलाई पुन: परिभाषित गर्न अहिलेको अध्ययन गरिएको कार्यालयले बताएको छ ।

यो प्रतिवेदनअनुसार नेपालका बहुसंख्यक नागरिक अर्धशहरी क्षेत्रमा बसोवास गर्छन् । शहरोन्मुख क्षेत्रमा बसोवास गर्ने जनसंख्या ३९ दशमलव ७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा भइरहेको बसाइँसराइले जनसंख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको औंल्याएको छ ।

भौगोलिक क्षेत्रका आधारमा हेर्दा ग्रामीण जनसंख्यामध्ये पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत केन्द्रित छ । शहरोन्मुख जनसंख्यामध्ये तराईमा मात्रै ८५ प्रतिशतको बसोवास छ । पोखरा महानगरपालिका र काठमाडौं उपत्यकामा अधिकांश शहरी जनसंख्या थुप्रिएका कारण शहरी जनसंख्यामध्ये पहाडमा ५३ प्रतिशत र तराईमा ३९ प्रतिशत केन्द्रित भएको प्रतिवेदनले देखाएको छ ।

गाउँपालिकाका ५ दशमलव ९ प्रतिशत जनसंख्या शहरी भनेर वर्गीकरण गरिएको क्षेत्रमा बसोवास गर्ने गरेको र नगरपालिकाका २५ दशमलव ४ प्रतिशत जनसंख्या ग्रामीण भनेर वर्गीकरण गरिएको क्षेत्रमा बसोवास गर्ने गरेको तथ्य पनि प्रतिवेदनले खुलस्त पारेको छ । प्रतिवेदनले नगरपालिका भए पनि बसोवास क्षेत्रको मुख्य विशेषता अझै पनि शहरोन्मुख रहेको र उल्लेख्य जनसंख्या ग्रामीण परिदृश्यमा नै भएको देखाएको छ ।

त्यसैगरी शहरी र शहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाको संख्या धेरै भए पनि तिनमा कुल जनसंख्याको ३३ प्रतिशत मात्रै रहेको देखाएको छ ।

कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले जनसंख्या, जनघनत्व, बसोबास क्षेत्र र शहरी क्षेत्रको श्रेणीगत विशेषताको आधारमा वडाहरूलाई ग्रामीण तथा शहरी क्षेत्रमा श्रेणीगत वर्गीकरण गरिएको बताए । उनका अनुसार कार्यालयले राष्ट्रिय जनगणना २०७८ को आधारमा परिणाम सार्वजनिक गरेको हो । सर्वेक्षणका क्रममा सर्वसाधारणको अत्यधिक लगाव शहरी क्षेत्रसँग रहेको भेटिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)