ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्ष दिनमा १० लाख १४ हजार पर्यटक 

२०८० पुस, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं ।  सन् २०१९ पछि पहिलोपटक मुलुकमा आउने पर्यटकको संख्या १० लाख नाघेको छ । कोरोना संक्रमणका वर्षहरूमा स्वात्तै घटेको पर्यटक आगमन पुरानै अवस्थामा फर्किएको छ । 

सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आएकोमा सन् २०२३ मा १० लाख १४ हजार ८७६ जना आएका छन् । सन् २०१९ मा नेपालमा हालसम्मकै धेरै पर्यटक आएका थिए । उक्त वर्ष पर्यटक आगमन ११ लाख ९७ हजार १९१ पुगेको थियो । सन् २०१८ मा पनि ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका थिए । कोरोना संक्रमणका कारण त्यसयताका वर्षमा पर्यटक आगमन घटेको थियो । 

कोरोनाको जोखिम टरेको र पर्यटन सिजन अक्टोबर र नोभेम्बरमा आगमन संख्या लाखभन्दा माथि पुगेसँगै सरकारी लक्ष्य प्राप्त भएको हो । सन् २०२३ मा पर्यटक आगमन लक्ष्य प्राप्त भएपछि सरकारले सन् २०२४ मा यसलाई दोब्बर बताउने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पर्यटक आगमन दोब्बर पुर्‍याउने बताउनुभएको थियो । 

घोषणा गर्ने, काम नगर्ने सरकारी शैलीबाट पर्यटन व्यवसायी भने निराश छन् । पर्यटक आगमनको सरकारी लक्ष्य प्राप्त हुनु सकारात्मक भए पनि सन्तुष्ट हुने अवस्था नभएको व्यवसायीले बताए । ‘यतिबेला ३५ लाख ग्राहक (आन्तरिक र बाह्य पर्यटक) लाई सेवा दिने अवस्थामा होटेल उद्योग छ । त्यस हिसाबले २०२३ मा क्षमताको एक तिहाइ मात्रै पर्यटक आए,’ होटेल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले भने, ‘पर्यटक आगमन थप बढाउन सक्ने प्रशस्त आधार छन् ।’ 

उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सन् २०२३ मा १० लाख पर्यटक ल्याउँदा अब गौतम बुद्धबाट १० लाख र पोखरा विमानस्थलबाट ७/८ लाख पर्यटक नेपाल ल्याउन सके ३० लाखको लक्ष्य सजिलै प्राप्त हुने र २०२४ मा २० लाख पर्यटक ल्याउने प्रधानमन्त्रीको घोषणालाई वास्तविकतामा परिणत गर्न सकिने उनको भनाइ छ । 

काठमाडौंको विमानस्थलजस्तै पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट चीन र भारतका प्रमुख शहर जोड्ने उडान शुरू गर्ने, सडक विस्तारलाई तीव्रता दिएर सम्पन्न गर्ने र आन्तरिक गृहकार्यलाई बढी जोड दिएमा पर्यटक आगमन बढाउन सकिने उनले बताए । सरकारले २०२३–२०३२ लाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको छ । तर, त्यसमा अहिलेसम्म कुनै काम नभएको शाहले बताए । ‘आजको सुखद अवस्था छ, निजीक्षेत्रको बलबुतामा सहज अवस्था आयो पनि,’ उनले प्रश्न गरे, ‘यसको कार्यान्वयनका लागि राष्ट्रिय संयोजन खै ? तीन तहको सरकारको भूमिका र राष्ट्रिय नीति खै त ?’ 

  •  २०२४ मा दोब्बर बनाउने सरकारी तयारी
  •  तर सरकारको घोषणा र काम गर्ने तरीका फरक–फरक
  •  गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालन भए लक्ष्य प्राप्त हुने

सरकारले घोषणा गर्ने सरकार आफै, स्थानीय सरकार र निजीक्षेत्रको भूमिका एवं जिम्मेवारीका विषयमा कुनै योजना नबनाउने व्यवसायीको गुनासो छ । पर्यटन व्यवसायीमा आत्मविश्वास भए पनि सरकारले नसघाएको उनीहरूको भनाइ छ । 

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का पूर्वमहासचिव सरिता लामाले कोरोना कालको तुलनामा सन् २०२३ को पर्यटक आगमन सुधारोन्मुख भए पनि पहिलाको जस्तो उत्साह नभएको बताइन् । सरकारले दोब्बर बनाउने लक्ष्य राखे पनि कुनै तयारी नगरेको उनको भनाइ छ । 

नेपालको राष्ट्रिय ध्वजावाहक जहाज अस्ट्रेलिया, यूरोपलगायत गन्तव्यमा जान नसकेको र तयार भएका अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन नभएको अवस्थामा पर्यटक आगमन दोब्बर बनाउने नारामा विश्वास नलागेको लामाले बताइन् । तर, सरकार र निजीक्षेत्र मिलेर यूरोप, अमेरिकालगायत देशमा सिधा उडान, सोही किसिमका प्याकेज निर्माण र विश्वमा हुने ठूला पर्यटन मेलामा प्रचारप्रसार गरे सम्भव हुने उनको भनाइ छ । 

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यो वर्ष लक्ष्य प्राप्त भएको र आगामी वर्ष २० लाख पर्यटक ल्याउने बताए । पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन भएमा लक्ष्य प्राप्त हुन सक्ने उनले बताए । उक्त लक्ष्य प्राप्तिका लागि गृहकार्य गरिरहेको भन्दै लामिछानेले थपे, ‘पहिलाकै जस्तै प्रचारप्रसारका कार्यक्रमहरू नै गर्ने र यसलाई तीव्रता दिइनेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)