ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मङ्सिरमा १ अर्ब ४१ करोडको अड लट कारोबार 

२०८० पुस, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। धितोपत्रको दोस्रो बजारमा मङ्सिरमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको अडलट कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारीअनुसार उक्त रकम बराबरको ५४ लाख १६ हजार कित्ता धितोपत्र मङ्सिरमा अड लट कारोबार भएको हो ।

पछिल्लो समय अड लट कारोबार बढ्दै गएको नेप्सेको तथ्यांकले देखाउँछ । असोजको तुलनामा कात्तिकमा र कात्तिकको तुलनामा मङ्सिरमा अड लट कारोबार बढी भएको ब्रोकर बताउँछन् । अड लट कारोबारका सम्बन्धमा पछिल्लो समय लगानीकर्तामा जानकारी बढ्दै गएकाले कारोबार बढेको ब्रोकरहरूको अनुमान छ ।

नेप्सेका अनुसार असोजमा २४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको ११ लाख ७७ हजार र कात्तिकमा ६० करोड ९५ लाख रुपैयाँभन्दा बढीको ३३ लाख ३७ कित्ता धितोपत्र अड लटमा कारोबार भएको थियो । असोजको तुलनामा कात्तिकमा ३६ करोड रुपैयाँभन्दा बढीको अड लट कारोबार भएकोमा कात्तिकको तुलनामा मङ्सिरको यस्तो अंक ८० करोड रुपैयाँले बढी छ । 

धितोपत्र बजारका लगानीकर्ताले आफूसँग १० कित्ताभन्दा कम धितोपत्र भएमा अड लटमा कारोबार गर्न सक्छन् । आम लगानीकर्ताको सुविधालाई ध्यानमा राखी २०७९ साल वैशाखदेखि हरेक दिनको नियमित कारोबारमा अड लटमा विक्री गर्न सक्ने व्यवस्था गरेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार त्यसअघि पनि धितोपत्र कारोबारमा अड लटसम्बन्धी व्यवस्था थियो तर शुक्रवार मात्र कारोबार हुन्थ्यो । लगानीकर्ताले अड लट कारोबारका लागि १ साता कुर्नुपर्ने समस्याको अन्त्य गरेसँगै यो कारोबार बढ्दै गएको पराजुलीको अनुमान छ । 

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी प्रयोजनको एकाइको अंकित मूल्य १० रुपैयाँ भए १०० कित्ता र अंकित मूल्य १०० रुपैयाँ भए १० कित्ता कारोबार एकाइ (बोर्ड लट) हुने व्यवस्था छ । त्यस्तै धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भए १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य हजार रुपैयाँ भए १ कित्ता कारोबार एकाइ हुने व्यवस्था उक्त विनियमावलीमा छ । कारोबार एकाइभन्दा कम परिमाणको धितोपत्रलाई अड लटमा कारोबार गर्न पाइन्छ । 

कारोबार एकाइ वा त्योभन्दा बढी धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अड लट बनाई कारोबार गर्न नपाउने व्यवस्था विनियमावलीले गरेको नेप्सेका सूचना अधिकारी पराजुलीले बताए । मङ्सिरमा १९ दिन धितोपत्रको दोस्रो बजारमा कारोबार भएको छ । यो महीना बजारमा ३६ अर्ब ४३ करोड ४४ लाख २० हजार रुपैयाँ बराबरको ११ करोड ७९ लाख ३७ हजार ९२२ कित्ता धितोपत्र कारोबार भएको तथ्यांक नेप्सेले सार्वजनिक गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)