चितवन। भरतपुर महानगरपालिका–६ स्थित गीतानगरका कृषक समूहलाई १७ थान मकै रोप्ने मेसिन र १७ थान मकै गोड्ने आधुनिक हलो वितरण गरिएको छ । कल्पवृक्ष साना किसान गरीबी निवारण कृषि सहकारी संस्थाको १८औं वार्षिक साधारणसभाको अवसर पारेर भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले सो सामग्री वितरण गरेका हुन् ।
कार्यक्रममा उपमेयर अधिकारीले साना किसान कृषि सहकारी कृषि क्रान्तिको अस्त्र भएको बताए । कृषिको आधुनिकीकरण आवश्यक रहेका बेला कृषि सहकारीले निर्वाह गरेको भूमिका अति नै महत्त्वपूर्ण रहेको उनको भनाइ थियोे । पछिल्लो समय सहकारीप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको उनले बताए । संस्थाका अध्यक्ष सूर्यप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक कृष्णप्रसाद धितालले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका छन् । कार्यक्रममा सस्थाका पाँचजना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो ।