काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)बीच लगानी अभिवृद्धि तथा व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने समझदारी भएको छ । समझदारीमा दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीबीच सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई लगानीसम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्य पूरा गर्न नीतिगत सुधारको वकालतमा सहकार्य गर्ने उल्लेख छ । त्यस्तै नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्ने, बजारमा आधारित वित्तीय र गैर–वित्तीय सेवाहरूमा पहुँच वृद्धि गर्दै सूचना प्रविधि क्षेत्रका लागि लगानी र व्यावसायिक वातावरण सुधारमा काम गर्ने बताइएको छ ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । परिसंघका अध्यक्ष अग्रवालले यो सहकार्यले नेपाल र अमेरिकालाई व्यावसायिक रूपमा जोड्न पुलको काम गर्ने बताए । ‘सहकार्यले ज्ञान शीपको आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटोहरू खुला गर्न, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न, विदेशी लगानी आकर्षित गर्न, औद्योगिक विकासका लागि योगदान गर्न मद्दत पुग्छ,’ उनले भने । एमच्यामका अध्यक्ष श्रेष्ठले परिसंघसँगको सहकार्यले अमेरिकी लगानी अभिवृद्धि गर्दै मुलुकको अर्थतन्त्रको विकासका लागि प्रभावकारी रूपमा काम गर्ने बताए । उक्त कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, पदाधिकारी सदस्य सन्दीप शारडा, एमच्यामका पदाधिकारी लगायत सहभागी थिए ।