ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई महीना स्वीकृति प्रक्रिया रोकिँदा प्राथमिक निष्कासन शून्य

२०८० पुस, १९  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। धितोपत्रको प्राथमिक बजार यतिबेला शून्य अवस्थामा छ । प्राथमिक बजार पुस १६ गतेपछि शून्य बनेको हो । निरन्तर सार्वजनिक निष्कासन भइरहने प्राथमिक बजारमा पछिल्लो समय नियामक निकायले स्वीकृति प्रक्रिया लामो समय रोक्दा शून्य बन्न पुगेको हो । 

पुस १६ गतेसम्म सार्वजनिक निष्कासनमा घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद शेयर थियो । घलेम्दी हाइड्रोले मङ्सिर १० गतेदेखि हकप्रद शेयर निष्कासन गरेको हो । नियामक निकायले सार्वजनिक निष्कासन प्रक्रियालाई निरन्तरता दिँदा दोस्रो बजारमा आपूर्ति बढ्न गई नकारात्मक असर परेको टिप्पणी लगानीकर्ताबाट भएसँगै २ महीना स्वीकृति प्रक्रिया रोकिएको हो ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डको व्यवस्थापन टीम र आफ्नो जिम्मेवारीलाई कमजोर बनाउने टिप्पणी आउन थालेपछि कात्तिक १ गतेपछि सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया रोकेका थिए । हमालले आफूलाई दिएको जिम्मेवारी सञ्चालक समितिको बैठकबाट पूरा गर्ने योजना अघि सारेका थिए । तर, बोर्ड सञ्चालक समिति बैठकले व्यवस्थापन टीमको सिफारिशमा बोर्ड अध्यक्षले नै स्वीकृति दिन मिल्ने पहिलाको व्यवस्थाबमोजिम नै काम गर्न निर्देशन दिएसँगै पुस १ गतेदेखि स्वीकृति प्रक्रिया अघि बढेको हो । 

पुस १ गतेपछि चार कम्पनीले धितोपत्र निष्कासनका लागि अनुमति पाए पनि सर्वोत्तम सिमेन्टबाहेक अन्यले निष्कासनको मिति तय गरेका छैनन् । सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गर्दै छ । 

सर्वोत्तमले सर्वसाधारणलाई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाको दरले शेयर बेच्न खोजेको छ । यस आधारमा अझै १ साता धितोपत्रको प्राथमिक बजार शून्य रहनेछ । बोर्डले पुस १ गते कुमारी क्यापिटल लिमिटेडलाई १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाइ विक्री गर्न अनुमति दिएको छ । बन्दमुखी प्रकृतिको कुमारी सबल योजना सञ्चालनका लागि क्यापिटलले एकाइ विक्री मिति हालसम्म तय गरेको छैन ।

त्यसपछि पुस २ गते बोर्डले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । बैंकले १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर रहेको एनआईएमबी डिबेन्चर २०९० निष्कासनका लागि अनुमति दिएको हो । यो ऋणपत्र निष्कासनको मिति पनि तय भएको छैन । बोर्डले पुस ११ गते सिंगटी हाइड्रो इनर्जीलाई शतप्रतिशत दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ । 

प्राथमिक बजारमा सबैले शेयर नपाउने भएकाले दोस्रो बजार कारोबारमा आएपछि खरीद गर्ने पर्खाइमा धेरै लगानीकर्ता हुन्छन् ।

सिंगटी हाइड्रोले हकप्रद निष्कासनको मिति तय नगरे पनि पुस २२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका धितोपत्रमध्ये साधारण शेयरप्रति लगानीकर्ताको आकर्षण बढी देखिन्छ । पछिल्लो समय बाँडफाँट भएको हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यमै सार्वजनिक निष्कासनमा आएको साधारण शेयर खरीदका लागि करीब १६ लाखको आवेदन 

परेको थियो । ६० लाखभन्दा बढी लगानीकर्ताले धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता खोलेका छन् । दोस्रो बजारमा कारोबारका लागि १८ लाखभन्दा बढी सहभागी भएका छन् । प्राथमिक बजार हुँदै धेरैजसो लगानीकर्ता दोस्रो बजारमा जोडिएकाले दोस्रो बजारको भविष्य प्राथमिक बजारसँग जोडिएको तर्क लगानीकर्ताको छ । अग्रज लगानीकर्ता डम्बरुवल्लभ घिमिरे प्राथमिक बजार शून्य हुँदा धितोपत्र बजार नै शून्य भएको बताउँछन् । आफ्नो परिवारका सबै सदस्यको नामबाट शेयर खरीदका लागि नियमित आवेदन दिँदै आएका घिमिरेले लामो समय प्राथमिक निष्कासन प्रक्रिया रोकिँदा दु:ख लागेको बताए । धितोपत्र बजार नियमित चल्ने भएकाले यसलाई आफ्नै गतिमा छोड्नुपर्ने घिमिरेको तर्क छ । शेयर निष्कासनको निरन्तरताले दोस्रो बजारमा नकारात्मक प्रभाव नपार्ने उनको भनाइ छ । प्राथमिक बजारमा सबैले शेयर नपाउने भएकाले दोस्रो बजार कारोबारमा आएपछि खरीद गर्ने पर्खाइमा धेरै लगानीकर्ता रहने भएकाले यसलाई सकारात्मक रूपमा लिन उनले आग्रह गरे । नियामक निकायले सार्वजनिक निष्कासन प्रक्रियालाई निरन्तरता दिई बजारमा माग बढाउने खालका नीतिमा जोड दिनुपर्ने घिमिरेको सुझाव छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)