ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरबैंक ब्याजदर ४ महीनापछि कोरिडोरको सीमाभित्र

२०८० पुस, १९  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। दैनिक औसत अन्तरबैंक ब्याजदर ४ महीनापछि ब्याजदर कोरिडोरको सीमाभित्र कायम भएको छ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत साढे २ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन गरेपछि ब्याजदर कोरिडोरको तल्लो सीमाभन्दा माथि उक्लिएको हो । 

राष्ट्र बैंकका अनुसार मंगलवार दैनिक औसत अन्तरबैंक ब्याजदर ३ दशमलव ०३५८ प्रतिशत कायम भएको छ । सोमवार अन्तरबैंक ब्याजदर २ दशमलव ८०७५ प्रतिशत थियो । 

‘ब्याजदर करिडोरसम्बन्धी कार्यविधि–२०७६’ मा कोरिडोरको माथिल्लो सीमा बैंकदर र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर तोक्दै अन्तरबैंक ब्याजदर यही बीचमा राख्ने व्यवस्था छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत निक्षेप संकलनदर ३ प्रतिशत कायम गरेको छ । यसभन्दा अघि यो दर ४ दशमलव ५ प्रतिशत थियो । चालू आवमा भदौ अन्तिमबाट नै अन्तरबैंक ब्याजदर कोरिडोरको सीमाभन्दा तल झरेको थियो । मङ्सिर ५ गतेसम्म ब्याजदर बढाउन कुनै उपकरण प्रयोग नगरेको राष्ट्र बैंकले बुधवारसम्ममा १७ पटक निक्षेप संकलन उपकरण जारी गरी बजारबाट २ खर्ब ६४ अर्ब ९० करोड रुपैयाँ तरलता उठाएको छ । त्यसमध्ये १ खर्ब १७ अर्ब ६५ करोड रुपैयाँ अझै राष्ट्र बैंकमा छ । 

बुधवार निक्षेप संकलन बोलकबोलको औसत ब्याजदर पनि ३ प्रतिशत कायम भएको छ । 

तरलता कम हुँदै गएपछि बुधवार राष्ट्र बैंकले मागअनुसार तरलता उठाएन । यस दिन २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न बोलकबोल गरेकोमा १९ अर्ब ९० करोडका लागि मात्र आवेदन परेको थियो । बैंकहरूले ब्याजदर बढाएपछि राष्ट्र बैंकले पनि १४ अर्ब ७० करोड मात्र विक्री गरेको छ । 

बुधवार निक्षेप संकलन बोलकबोलको औसत ब्याजदर पनि ३ प्रतिशत कायम भएको छ । एक महीनाअघि यो ब्याजदर १ प्रतिशतभन्दा तल झरेको थियो । 

बुधवार २५ अर्ब रुपैयाँको निक्षेप परिपक्व हुने भएपछि राष्ट्र बैंकले बिहीवार २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न आवेदन माग गरेको छ । चालू आवमा बैंकिङ प्रणालीमा निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह हुन नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको हो ।

सोमवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव शून्य ६ प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार उनीहरूसँग थप ६ खर्ब रुपैयाँ कर्जा विस्तारको क्षमता छ । सोमवारसम्ममा बैंकहरूले ६० खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आवमा बैंकहरूको निक्षेप २ खर्ब ९४ अर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा प्रवाह भने १ खर्ब ४६ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । पुसपछि भने बैंकहरूले ब्याजदर घटाएर कर्जा प्रवाहमा जोड दिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)