काठमाडौं। जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको २ महीना बिते पनि पुनर्निर्माणको काम शुरू भएको छैन । पुनर्निर्माणको काम शुरू नभएपछि प्रभावित क्षेत्रका स्थानीय सरकार, जिल्लास्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति तथा जनप्रतिनिधिले पुनर्निर्माणको काम तत्काल शुरू गर्न आग्रह गरेका छन् ।
रुकुमपश्चिमबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको पहलमा बुधवार ललितपुरमा आयोजित अन्तरक्रियामा पुनर्निर्माणको काम शुरू हुन नसक्दा स्थानीयले प्रश्न गर्न थालेको जनप्रतिनिधिहरूले गुनासो गरे । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले पुनर्निर्माणको काम शुरू नहुँदा स्थानीयलाई भूकम्पका कारण भत्किएका घरलगायत संरचना निर्माणमा अन्योल भइरहेको बताए । ‘धेरैजसो भूकम्पपीडितको अवस्था त भत्किएका संरचना आफै निर्माण गर्ने खालको छैन,’ उनले भने, ‘जो जसको हैसियत पुनर्निर्माण गर्न सक्ने छ, उनीहरू पनि कसरी निर्माण थाल्ने भनेर अन्योलमा रहेको अवस्था छ ।’ पुनर्निर्माणको काम शुरू नहुँदा पीडित लामो समयसम्म अस्थायी शिविरमा बस्नुपर्ने बाध्यता रहन्छ ।
भूकम्पपछि राहत, उद्धारको काम लगभग सकिएकाले अब पुनर्निर्माणको काम थाल्नुपर्ने सम्बद्ध क्षेत्रका जनप्रतिनिधिको माग छ । कात्तिक १७ को भूकम्पमा परी जाजरकोट र रुकुमका १५४ को मृत्यु तथा ३६६ घाइते भएका थिए । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पमा परी जाजरकोटमा १०१ को मृत्यु भएको थियो । करीब ३५ हजार घर प्रभावित भएका छन् । त्यस्तै ५३ सर्वसाधारणको मृत्यु भएको रुकुमपश्चिममा ३१ हजारभन्दा बढी घर प्रभावित भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार उक्त भूकम्पबाट सल्यानका १ हजार ७४३ घरमा पनि क्षति पुगेको छ । सर्वसाधारणका घरबाहेक विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी तथा थुप्रै सरकारी कार्यालयमा क्षति पुगेको छ ।
जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले जिल्लाभरका अधिकांश घर माटो र ढुंगाले बनेको उल्लेख गर्दै भूकम्पछि ती एम्बुसमा परिणत भएको बताए । ‘अस्थायी आवासले तत्काललाई केही राहत पुगे पनि शौचालयको सुविधा छैन,’ उनले भने, ‘त्यसैले पुनर्निर्माणका लागि तत्काल काम शुरू गर्न आवश्यक भइसकेको छ ।’
सरकारले २०७२ को गोरखा भूकम्पमा घर गुमाउनेलाई प्रतिपरिवार ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको आवश्यकतामा जोड दिँदै आएका पूर्वअर्थमन्त्री शर्माले स्थानीय नागरिकले पुनर्निर्माण कहिले शुरू हुन्छ भनेर सोध्ने गरेको बताए । ‘अबको पुनर्निर्माण घरमात्र बनाएर हुने छैन,’ उनले भने, ‘परम्परागत शैली तथा स्थानीय उत्पादन पनि ध्यान दिएर गरिने पुनर्निर्माण उपयोगी हुन्छ ।’ भूकम्पपीडितले आफ्नोभन्दा पहिला आफ्ना भैंसी र वस्तुभाउको उद्धार गर्न चाहिरहेको उनको भनाइ छ । उनले आत्मनिर्भर अर्थतन्त्रका लागि ग्रामीण अर्थतन्त्रलाई जोड्नुपर्ने बताए । विद्यालयमा छाना हाल्न नपाउँदा विद्यार्थीको पढाइ रोकिएको पनि उनले सुनाए ।
सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जाजरकोट भूकम्प प्रभावितका लागि अहिलेसम्म १० अर्ब रुपैयाँ विनियोजन गरेको उल्लेख गर्दै पुनर्निर्माणका लागि ५५ करोड अमेरिकी डलर (झन्डै ७३ अर्ब रुपैयाँ) आवश्यक पर्ने प्रारम्भिक तथ्यांक आएको बताए । उनले पुनर्निर्माणका लागि आवश्यक पर्ने स्रोत आन्तरिक रूपमा अपुग हुने भएपछि दातृ निकायसँग छलफल भइरहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पुनर्निर्माणको काम चाँडो शुरू गर्नुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले भूकम्प प्रभावितका लागि सरकारले १० अर्ब रुपैयाँ छुट्ट्याए पनि अहिलेसम्म १ अर्ब रुपैयाँ मात्रै पीडितका हातमा पुगेकाले आफूलाई पनि यसमा ढिलाइ भइरहेको छ भन्ने लागेको उल्लेख गर्दै कुन मोडलमा पुनर्निर्माणको काम थाल्ने भन्नेबारे छलफल भइरहेको बताउनुभयो । अन्तरक्रियामा जाजरकोट र रुकुमपश्चिमबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि तथा विषय विज्ञहरूले पुनर्निर्माणका लागि विभिन्न खाले मोडलको सुझाव दिए । कतिपयले पुनर्निर्माणका लागि प्राधिकरण नै बनाउनुपर्ने सुझाव दिए ।