काठमाडौं । राइड शेयरिङ एप ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । प्रतिलिपि अधिकार उल्लङ्गन र आपराधिक विश्वासघात गरेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीवार उनलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भट्ट पक्राउ परेको पुष्टि गरे ।
टुटलका साझेदारले भट्टविरुद्ध प्रतिलिपि अधिकार उल्लङ्गन र आपराधिक विश्वासघात गरेको उजुरी दिएका थिए । उनीविरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भट्टमाथि साझेदारको अनुमतिबिना ‘टुटल’लाई ‘टुटल बाइ ज्याप’ भनेर चलाएको आरोप छ ।