काठमाडौं । चिज उद्योगी व्यवसायीले भारतीय चिजका कारण नेपाली चिज उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समय सरकारले कच्चा दुधको मूल्य बढाउने निर्णय गरेसँगै चिजको मूल्य पनि बढेको थियो । नेपाली चिजको मूल्य बढेपछि सस्तोमा भारतीय चिज भित्रन थालेकाले पछिल्लो समय नेपाली चिज स्टक हुन थालेको छ ।
हिमालय चिज उत्पादक संघका अध्यक्ष रिन्जी फूर्वा शेर्पाले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेका छन्,`कच्चा दुधको मूल्य वृद्धि हुँदा चिजको मूल्य वृद्धि हुनु पनि स्वभाविक हो । तर, यसैबीचमा छिमेकी मुलुक भारतबाट विभिन्न ब्राण्डका चिज नेपाली बजारमा निर्वाध रूपमा भित्रिएर विक्रीवितरण भइरहेका छन् । भारतीय उत्पादनभन्दा महँङ्गो हुन जाँदा स्वदेशी चिज उद्योग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् ।´
पछिल्लो समय कराडौं रुपैयाँ बराबरका उत्पादित चिज स्टक भएको जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, `उद्यमीहरूले थप चिज उत्पादन गर्न नसकेर उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको प्रत्यक्ष प्रभाव किसानसम्म परेको छ ।´
संघले भारतीय उत्पादनभन्दा महँङ्गो हुन जाँदा स्वदेशी चिज उद्योग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेको छ । संघले भनेको छ, `आत्मनिर्भर तथा स्वदेशी उद्योगका रूपमा स्थापित भएका चिज उद्योग संरक्षण गर्न र यसलाई बचाउन तत्काल कदम चाल्न सरकारलाई आग्रह गर्दछौं ।´
नेपाली स्वदेशी चिज उद्योगलाई संरक्षण गर्नका लागि गैरकानुनी ढङ्गले आयात भइरहेको चिजलाई तत्काल नियन्त्रण गर्न, भन्सार कर बढाएर आयात निरुत्साहन गर्न तथा नेपाली चिज उद्योगीलाई अनुदानको व्यवस्था गर्न र दुधको लागत मूल्य घटाउनेतर्फ पहल गर्न संघले माग गरेको छ ।
नेपाली चिजको अन्तरराष्ट्रिय बजारमा समेत माग भइरहेको भन्दै सहजीकरण गरिदिन समेत संघले आग्रह गरेको छ ।
व्यावसायीले हिजो मात्रै कृषिमन्त्रीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।