काठमाडौं। आर्थिक गतिविधिमा कमी आउँदा प्रभावित बनेको बीमा कम्पनीहरूको व्यवसायमा सुधार देखिन थालेको छ । चालू आर्थिक वर्ष (आव) का अघिल्ला महीनाहरूमा ओरालो लागेको जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय मङ्सिरमा वृद्धि भएको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आवको मङ्सिरमा जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्क र नवीकरणबाट कुल १२ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कात्तिकमा उनीहरूले ८ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । यसैगरी चालू वर्षको मङ्सिरसम्ममा भने जीवन बीमा कम्पनीहरूले कुल ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् ।
मङ्सिरमा कम्पनीहरूले २ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । यसका लागि उनीहरूले ४ लाख ३३ हजारओटा नयाँ बीमालेख विक्री गरेका छन् । मङ्सिरमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय पनि करीब ७० करोड रुपैयाँले बढेको देखिन्छ । कात्तिकमा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा मङ्सिर २ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको प्राधिकरणले जानकारी दिएको छ ।
आर्थिक मन्दीसँगै बैंक, वित्तीय संस्थाको कर्जा प्रवाह घट्नुका साथै व्यावसायिक गतिविधि प्रभावित भएपछि बीमा कम्पनीको व्यवसाय प्रभावित भएको थियो । तर, पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुधारसँगै बीमा कम्पनीको व्यवसायमा पनि सकारात्मक प्रभाव देखिएको हो । रेमिट्यान्स आप्रवाहमा आएको सुधारसँगै बैंक, वित्तीय संस्थामा अधिक तरलता देखिएको छ । यसले गर्दा बैंकहरूले ब्याजदर घटाउँदै कर्जा प्रवाहमा जोड दिएका छन् । अर्थतन्त्रका सूचकहरूमा सुधार आएको भन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिएको छ । राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमार्फत अर्थतन्त्रका बाह्य तथा आन्तरिक सूचकहरू बलियो अवस्थामा रहेको सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले नीतिगत दर घटाइसकेको छ । यसैगरी घरजग्गा, सवारीसाधन, शेयरलगायत क्षेत्रमा कर्जा प्रवाहमा गरिएको कडाइमा पनि केही लचिलो बनेको छ ।
आर्थिक मन्दीसँगै बैंक, वित्तीय संस्थाको कर्जा प्रवाह घट्नुका साथै व्यावसायिक गतिविधि प्रभावित भएपछि बीमा कम्पनीको व्यवसायमा असर गरेको थियो । बैंकको ऋण लिन बीमा अनिवार्य भएकाले ऋण लगानी नहुँदा बीमा कम्पनीको व्यवसायमा पनि असर परेको हो । बैंक वित्तीय संस्थाबाट कर्जा प्रवाह वृद्धिसँगै बीमा कम्पनीको व्यवसायमा पनि सकारात्मक प्रभाव पर्ने बीमकहरू बताउँछन् ।