ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मधेश प्रदेशमा साढे १३ लाख मेट्रिक टन धान उत्पादन

२०८० पुस, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम। यस वर्ष मधेश प्रदेशका आठ जिल्लामा वर्षे धान साढे १३ लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको छ । मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेशमा यस वर्ष उक्त धान १३ लाख ५५ हजार मेट्रिक टन उत्पादन भएको हो । यस वर्ष मधेशका आठ जिल्लामा ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको थियो ।

मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार यस वर्ष धनुषामा ४२ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकोमा १ लाख ७६ हजार मेट्रिक टन उत्पादन भएको छ । यस्तै सिरहामा ४५ हजार ९०० हेक्टर क्षेत्रफलमा १ लाख ६६ हजार ४८६ मेट्रिक टन, बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा १ लाख ९१ हजार ६२ मेट्रिक टन र पर्सामा ५७ हजार हेक्टर क्षेत्रफलमा १ लाख ९७ हजार ९४६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले जानकारी दिए । 

यसैगरी महोत्तरीमा ३९ हजार ८७० हेक्टर क्षेत्रफलमा १ लाख २२ हजार ७०० मेट्रिक टन, सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा २ लाख १७ हजार ६०० मेट्रिक टन, रौतहटमा ३५ हजार ६३० हेक्टर क्षेत्रफलमा १ लाख ४१ हजार २३३ मेट्रिक टन र सर्लाहीमा ४५ हजार ८०० हेक्टर क्षेत्रफलमा १ लाख ४१ हजार ९८० मेट्रिक टन वर्षे धान उत्पादन भएको छ ।

गतवर्षको तुलनामा यस वर्ष मधेशमा वर्षे धान ९२ हजार मेट्रिक टन कम उत्पादन भएको मन्त्रालयका प्रवक्ता मेहताले बताए । उनका अनुसार प्रदेशमा यस वर्ष समयमा वर्षा नहुदा वर्षे धान उत्पादन घटेको हो । यस्तै स्थायी सिँचाइ तथा मलखादको अभावले पनि उत्पादनमा ह्रास आएको उनको भनाइ छ ।

यता, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, जनकपुरधामले मङ्सिरयता ६१ क्वीन्टल मन्सुली धान मात्र खरीद गरेको छ । संघीय सरकारले चालू आर्थिक वर्षमा उक्त कार्यालयलाई ३० हजार क्वीन्टल मन्सुली धान खरीदको लक्ष्य दिए पनि किसानले गल्ला व्यापारीलाई बेचेकाले कम्पनीले खरीद गर्न नसकेको कार्यालय प्रमुख गंगाप्रसाद साहले बताए । संघीय सरकारले यस वर्ष मन्सुली धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल रू. ३ हजार ३६२ रुपैयाँ निर्धारण गरेको छ । तर गल्ला व्यापारीले उक्त धान सरकारले तोकेको मूल्यभन्दा प्रतिक्वीन्टल ४०० देखि ५०० बढीमा खरीद गरेका छन् । बढी मूल्य पाएकाले किसानले उनीहरूलाई नै धान बेचेका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)