ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान उत्पादन ४ वर्षयताकै धेरै

२०८० पुस, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। पछिल्लो ४ वर्षको तुलनामा यस वर्ष नेपालमा सबैभन्दा धेरै धान फलेको छ । यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को तुलनामा यस वर्ष धान उत्पादन ४ दशमलव ३३ प्रतिशतले बढेको छ । साथै विगत ४ वर्षको औसत उत्पादनको तुलनामा यस वर्ष ५ दशमलव शून्य ८ प्रतिशतले धान उत्पादन बढेको देखिएको हो ।

यस वर्ष धानखेती भएको जमीनको क्षेत्रफल भने गत आवको तुलनामा शून्य दशमलव ६१ प्रतिशत (८ हजार ८ सय हेक्टर) ले घटेर १४ लाख ३८ हजार ९८९ हेक्टर कायम भएको छ । यो क्षेत्रफल गत ४ आवको औसत क्षेत्रफलको तुलनामा १ दशमलव ७३ प्रतिशत कम हो । तुलनात्मक रूपमा धानखेती हुने जमीनको क्षेत्रफल घटे पनि औसत उत्पादकत्व भने गत आवको तुलनामा ४ दशमलव ९७ प्रतिशतले बढेर ३ दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको तथ्यांकले देखाएको छ । यो उत्पादकत्व विगत ४ वर्षको औसत उत्पादकत्वभन्दा ६ दशमलव ९२ प्रतिशतले धेरै भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले यस वर्षको धान उत्पादनको तथ्यांक आइतवार सार्वजनिक गरेको थियो । त्यसमा केही त्रुटि भएपछि पुन: सोमवार पठाएको बताइएको छ ।

कुल उत्पादन ५७ लाख २४ हजार २३४ मेट्रिक टन

क्षेत्रफल घटे पनि उत्पादकत्व बढ्दा सकारात्मक नतिजा

मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीले यस वर्ष रासायनिक मलखाद र बीउको आपूर्ति सहज हुनुका साथै मौसमी अनुकूलताले धान उत्पादनमा सकारात्मक प्रभाव परेको बताइन् । 

नेपालमा हरेक वर्ष विदेशबाट ठूलो परिमाणमा धान आयात हुने गरेको छ । आयात प्रतिस्थापन गर्न धानको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने देखिएकाले मन्त्रालयले यस वर्षदेखि चैतेधानको क्षेत्रफल विस्तारमा जोड दिने कार्यक्रम ल्याएको उनले जानकारी दिइन् । ‘मन्त्रालयबाट खटिएको अध्ययन टोलीले देशका विभिन्न भागमा पुगी चैते धानखेतीको सम्भाव्यताबारे अध्ययन गरेकाले सोहीअनुरूप विस्तारको योजना बनाएका छौं,’ उनले भनिन् । 

चालू आवमा धान उत्पादन कोशी प्रदेशमा उच्च छ । कर्णाली प्रदेशमा न्यून रहेको मन्त्रालयको भनाइ छ । चालू आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश ४ दशमलव ४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्रस्थानमा छ । मधेश प्रदेशको उत्पादकत्व ३ दशमलव ४९ मेट्रिक टन छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)