काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । काठमाडौंमा सोमवार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताएका हुन् ।
जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने उनको भनाइ छ । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्र लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने उनको भनाइ थियो । ‘यी चार क्षेत्रमा लगानीको मुख्य आकर्षण छ,’ उनले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुन सक्छ ।’
नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्रअन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भूभाग छ । यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने अर्थमन्त्रीको भनाइ थियो । उनले भने ‘जलविद्युत् क्षेत्रमा नेपालले फड्को मारेको छ, भारतले १० हजार मेगावाट खरीद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुको निर्यातमा पनि निजीक्षेत्रले ध्यान दिनुपर्छ ।’
आगामी दिनमा व्यावसायिक वातावरण थप मजबूत बन्ने उनको भनाइ थियो । नेपाल–भारत व्यावसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न उनले आग्रह गरे । यस्तै आगामी वैशाखमा नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको स्मरण गराउँदै लगानीसम्बन्धी सम्पूर्ण कानून, नीतिनियम सुधार गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।