काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् । मंगलवार झापा चेम्बर अफ कमर्सको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले चुलिँदो व्यापार घाटा कम गर्न कृषि एवं खानीजन्य वस्तुको पहिचान एवम् प्रवर्द्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् ।
चालू आर्थिक वर्षको ५ महीनामै व्यापार घाटा ५ खर्ब ९७ अर्ब रुपैयाँ नाघेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा बजेटकै हाराहारीमा हुन थालेको बताए । उनले भने, ‘आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापार घाटा पनि हो, आन्तरिक उत्पादन नहुँदा कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दो छ, सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी निर्यात सहजीकरण गरिनुपर्दछ ।’ निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत्, पर्यटन र सूचना प्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा योजना बनाउनुपर्नेमा उनले जोड दिए । निर्यातयोग्य वस्तुको पहिचान र प्रवर्द्धन सम्बन्धी ठोस नीतिगत व्यवस्थाका लागि नेपाल चेम्बर अफ कमर्सले पनि पहल गरिरहेको उनले बताए । सरकारले निर्यात वृद्धिका लागि विभिन्न नीति अघि सारे पनि व्यावहारिक परिणाम आउन नसकेको उनको भनाइ थियो ।
झापा, इलाम, तेह्रथुम लगायत जिल्लामा उत्पादित चिया, अलैंची लगायत वस्तु निर्यात गरेर अर्बौं रुपैयाँ भित्त्याउन सकिने उनले बताए ।