ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागढुंगा सुरुङको काम नरोक्ने सहमति

२०८० पुस, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नागढुंगा सुरुङमार्ग आयोजनामा रोकिएको काम पुन: शुरू हुने भएको छ । सुरुङमार्गको धादिङतर्फ जग्गा स्वामित्व र मुआब्जामा विवाद भएसँगै स्थानीयले निर्माण रोकेका थिए । मंगलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासमेतको सहभागितामा छलफल गरेपछि स्थानीय बासिन्दा काममा अवरोध नगर्न सहमत भएका हुन् । जग्गाको स्वामित्व र मुआब्जा विवादले रोकिएको काम पुन: शुरू भएको छलफलमा सहभागी सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । 

आयोजनाको धादिङ खण्डमा पर्ने जग्गा सरकारको हुने कि स्थानीय बासिन्दाको भन्नेमा विवाद आएपछि सुरुङमार्गको काम रोकिएको थियो । सडक विभागले सडक र नाली सुधार गर्ने, जग्गाको स्वामित्वसम्बन्धी विवादमा मालपोत कार्यालय धादिङलाई समेत राखेर जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएको छ । 

स्थानीय बासिन्दाले अवरोध गरेपछि सुरुङभित्रको कंक्रिट लाइनिङ गर्ने काम रोकिएको थियो । छलफलका क्रममा मन्त्री ज्वालाले जग्गाको स्वामित्व र मुआब्जाको समस्या कानूनको दायरामा रहेर समाधान गर्ने बताए । स्थानीयले पनि सुरुङमार्गको काम नरोक्ने प्रतिबद्धता व्यक्त गरे ।

 मुख्य सुरुङमार्ग ८० मीटर मात्रै खन्न बाँकी

२ दशमलव ६८ किलोमीटरको मुख्य सुरुङमार्ग अब ८० मीटर मात्रै खन्न बाँकी रहेको आयोजनाले जानकारी दिएको छ । एक महीनाभित्र ब्रेक थ्रु हुने गरी काम भइरहेको सडक विभागले जानकारी दिएको छ । आयोजनाले पुस ११ गते सार्वजनिक गरेको प्रगति विवरणअनुसार हालसम्म भौतिक प्रगति ६७ दशमलव ६१ र वित्तीय प्रगति ६२ दशमलव ४९ प्रतिशत पुगेको छ । 

उक्त आयोजनामा जग्गा विवादले पटकपटक काम रोकिँदै आएको छ । आपत्कालीन सुरुङमार्गसहित उक्त आयोजनामा तीनओटा अन्डरपास बनिसकेका छन् । चारओटा बक्स कल्भर्ट, एउटा ओभरपास र तीनओटा पुल बनिसकेका छन् । फ्लाइओभर निर्माणाधीन अवस्था छन् । 

मुख्य सुरुङमार्गसहित कुल ५ दशमलव ७ किलोमीटरको नागढुंगा–नौबीसे सुरुङमार्ग साढे ३ वर्षमा निर्माण सक्ने गरी नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच सम्झौता भएको थियो । यो आयोजनाको शिलान्यास २०७६ कात्तिकमा भएको थियो । सुरुङमार्ग बनाउन सन् २०१६ मा सम्झौता भएको थियो । जापान सरकारको सहुलियत ऋणमार्फत बन्दै गरेको उक्त सुरुङमार्ग सम्पन्न हुँदा २२ अर्ब रुपैयाँ खर्च हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)